
पोखरा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्र देखिएको आन्तरिक तिक्तता अन्त्य गर्दै असन्तुष्ट नेता–कार्यकर्ता र पार्टीबाट टाढिएका मतदातासँग पुनःसम्बन्ध स्थापित गर्नुपर्ने बताएका छन्। उनले कांग्रेससँग अलग भएका परिवारको पहिचान गरी उनीहरूसँग संवाद र सम्बन्ध विस्तार गर्ने अभियान सञ्चालन गरिने जानकारी दिएका छन्।
बिपी स्मृति पुस्तकालय गण्डकी प्रदेशले पोखरामा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीलाई बलियो बनाउन विगतमा कांग्रेससँग आबद्ध रहेर अहिले टाढिएका परिवारलाई पुनः जोड्नुपर्नेमा जोड दिएका हुन्।
११३औँ बिपी जयन्तीका अवसरमा पार्टीबाट अलग भएका परिवारसँग संवाद सुरु गर्नुपर्ने उल्लेख गर्दै उनले दुई लाखभन्दा बढी परिवार कांग्रेसबाट टाढिएको बताए।
‘दुई लाखभन्दा बढी परिवारहरू अहिले हामीसँग अलग हुनुभएको छ। ती अलग भएका परिवारलाई हामीले खोज्नुपर्यो। उहाँहरूसँग संवाद गर्नुपर्यो,’ थापाले भने।
उनले पार्टीभित्र पुस्तागत समन्वयलाई पनि प्राथमिकतामा राख्नुपर्ने बताए। कांग्रेसमा २० वर्षदेखि ८० वर्षसम्मका चार पुस्ता क्रियाशील रहेको उल्लेख गर्दै उनले अग्रज नेताको अनुभव र युवाको ऊर्जालाई एकसाथ उपयोग गर्न सके मात्रै अपेक्षित परिणाम हासिल गर्न सकिने धारणा राखे।
गाउँगाउँमा खटिन नेताहरूलाई निर्देशन
सभापति थापाले आफ्नो चारवर्षे कार्यकालमा निष्ठापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै नेताहरूलाई भड्किलो शैलीभन्दा जनतासँग प्रत्यक्ष सम्पर्क बढाउन आग्रह गरे। पार्टीलाई जनतासँग जोड्न गाउँगाउँमा पुगेर संगठन विस्तार र संवादमा केन्द्रित हुनुपर्ने उनको भनाइ थियो।
आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटमा तल्लो तहलाई अधिकार दिइने पनि उनले बताए। स्थानीय अवस्था र जनताको भावना बुझ्ने स्थानीय पार्टी संरचनालाई उम्मेदवार छनोटको जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।
पार्टीभित्रको असन्तुष्टि र चुनावी प्रतिस्पर्धाबाट उत्पन्न तिक्तता अन्त्य गर्दै संगठनलाई एकताबद्ध बनाउनु अहिलेको आवश्यकता रहेको उनको अभिव्यक्तिबाट देखिन्छ।
गण्डकीका ११ जिल्लाका कांग्रेस योगदानकर्तालाई सम्मान
कार्यक्रममा सभापति थापाले नेपाली कांग्रेसमा रहेर विशिष्ट योगदान पुर्याएका गण्डकी प्रदेशका ११ जिल्लाका एक–एक जनालाई सम्मान गरेका थिए।
सम्मानित हुनेहरूमा नवलपुरकी सुमित्रादेवी खनाल, गोरखाका राममणि धिताल, लमजुङका नवीन बानियाँ, तनहुँका झपटबहादुर केसी, मनाङका पेम्बा दोर्जे लामा, कास्कीका कृष्णबहादुर कुँवर, स्याङ्जाका शालिकराम न्यौपाने, पर्वतका बलभद्र शर्मा, बागलुङका हरिप्रसाद श्रेष्ठ, म्याग्दीका पृथ्वीमान छन्त्याल र मुस्ताङका सोनम धोर्जे विष्ट छन्।
उनीहरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र र दोसल्ला प्रदान गरिएको थियो।
कार्यक्रममार्फत कांग्रेसले पार्टीमा योगदान पुर्याएका अग्रजको सम्मानसँगै संगठनभित्रको एकता सुदृढ गर्ने र पार्टीबाट टाढिएका मतदातासँग पुनःसम्बन्ध स्थापित गर्ने सन्देश दिएको छ।









Facebook Comments