
काठमाडौँ । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आरेन राईले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै प्रचारमुखी गतिविधिभन्दा जनताले अनुभूति गर्ने परिणाममा ध्यान दिन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमा देखिने लोकप्रियतालाई सरकारको सफलताको मापदण्ड बनाउन नहुने धारणा राखेका छन्।
मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै राईले सरकारको पछिल्लो ६–७ महिनाको कार्यसम्पादनमाथि टिप्पणी गरेका हुन्। उनले सरकारका कामको मूल्यांकन सामाजिक सञ्जालका अल्गोरिदम र प्रचारका आधारमा नभई वास्तविक उपलब्धिका आधारमा गरिनुपर्ने बताए।
राईले राष्ट्रिय स्वाधीनता र छिमेकी मुलुकसँगको सम्बन्धबारे पनि प्रश्न उठाए। कुनै राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था आउनु कस्तो राष्ट्रवाद हो भन्दै उनले राष्ट्रिय हितमा सम्झौता गर्न नहुने धारणा व्यक्त गरे।
नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धका विचारलाई आत्मसात् गर्दै सबै मुलुकसँग सन्तुलित तथा मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुपर्ने उनको भनाइ थियो। तर, छिमेकीसहित सबै राष्ट्रसँग मित्रवत् सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतामा सम्झौता गर्नु नभएको उनले स्पष्ट पारे।
प्रधानमन्त्री वालेन्द्र शाहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राईले त्यसलाई सच्याउन माग गरे। सीमासम्बन्धी विषयमा सत्तापक्ष र प्रतिपक्षबीच मतभेदभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो। देशको सीमा, राष्ट्रियता र निर्माणका सवालमा राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने उनले बताए।
अर्थमन्त्री स्वर्णिम वाग्लेको अभिव्यक्तिप्रति समेत असन्तुष्टि व्यक्त गरेका राईले त्यस विषयलाई संसद्मा उठाउने बताए। राष्ट्रियताको पक्षमा आवाज उठाउनु कुनै अर्को राष्ट्रको विरोध गर्नु नभएको उल्लेख गर्दै उनले राष्ट्रिय हितको रक्षा र अन्तर्राष्ट्रिय मैत्रीबीच सन्तुलन आवश्यक रहेको धारणा राखे।
राईले सामाजिक सञ्जालमा अल्गोरिदम र साइबर समूहको प्रयोग गरी फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गरे। राजनीतिक दलप्रति अन्धभक्त बन्नुभन्दा देशको सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय हितका विषयमा सचेत रहन उनले युवाहरूलाई आग्रह गरे।
‘सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ,’ राईले भने, ‘सरकारले गरेका कामको मूल्यांकन गर्ने मापदण्ड सामाजिक सञ्जाल र अल्गोरिदम होइनन्। त्यसैले वर्तमान सरकारलाई परिणाममुखी भएर काम गर्न विनम्र अनुरोध गर्दछु।’
उनले थपे, ‘कुनै पनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो? हामी कुनै पनि राष्ट्रको विरुद्धमा छैनौँ। पञ्चशीलको सिद्धान्तअनुसार सबै देशसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्नुपर्छ।’









Facebook Comments