काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिलाई लिएर अभिनेता राजेश हमालले आपत्ति जनाएका छन्। उनले मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिले बोल्दा नेपालको परराष्ट्र नीति, राष्ट्रिय स्वाभिमान र कूटनीतिक मर्यादालाई ध्यान दिनुपर्ने बताएका छन्।

भारतको टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री वाग्लेले नेपालमा भारतविरोधी राष्ट्रवादको युग समाप्त भएको धारणा राखेका थिए। उनको उक्त अभिव्यक्तिलाई लिएर नेपालमा बहस र आलोचना भइरहेका बेला हमालले पनि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गरेका हुन्।

ad

हमालले नेपालको परराष्ट्र नीति कुनै व्यक्तिको व्यक्तिगत इच्छाशक्ति वा तत्कालीन राजनीतिक स्वार्थका आधारमा सञ्चालन हुन नहुने बताएका छन्। उनका अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन कूटनीतिक सिद्धान्तमा आधारित हुनुपर्छ।

“नेपालको परराष्ट्र नीति सधैँ राष्ट्रिय सार्वभौमिकता, स्वाभिमान र दीर्घकालीन सिद्धान्तहरूमा आधारित रहँदै आएको छ। यो कुनै व्यक्तिको स्वेच्छा वा तत्कालीन राजनीतिक स्वार्थअनुसार सञ्चालन हुने विषय हुनु हुँदैन,” हमालले सामाजिक सञ्जालमा लेखेका छन्।

उनले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सांस्कृतिक तथा भौगोलिक आधारमा गहिरोसँग जोडिएको उल्लेख गर्दै दुई देशबीचको मित्रता थप बलियो बनाउनुपर्ने धारणा राखेका छन्। तर, सम्बन्ध सुधार गर्ने नाममा नेपालको राष्ट्रिय प्रतिष्ठा र कूटनीतिक मर्यादालाई कमजोर पार्न नहुने उनको भनाइ छ।

“नेपाल–भारत सम्बन्ध भूगोल, इतिहास, संस्कृति र जनस्तरको आपसी सम्बन्धमा गहिरोसँग जरा गाडेर बसेको छ। यस सम्बन्धलाई अझ सुदृढ बनाउनु स्वाभाविक मात्र होइन, आवश्यक पनि छ,” उनले भनेका छन्।

हमालले छिमेकी मुलुकसँगको सम्बन्ध विस्तार गर्ने प्रयासको स्वागत गर्नुपर्ने बताए। तर, नेपाली प्रतिनिधिले अन्तर्राष्ट्रिय मञ्चमा देशको धारणा प्रस्तुत गर्दा गरिमा, सन्तुलन र परिपक्वता कायम राख्नुपर्नेमा उनले जोड दिएका छन्।

नेपाल–भारत सम्बन्धलाई व्यक्तिगत चाकरी वा सार्वजनिक उपहासको विषय बनाउन नहुने उनको टिप्पणी छ। दुई देशबीचको सम्बन्ध ऐतिहासिक रूपमा महत्त्वपूर्ण र रणनीतिक रूपमा संवेदनशील रहेकाले सार्वजनिक अभिव्यक्ति दिँदा त्यसको प्रभावबारे गम्भीर हुनुपर्ने उनले बताएका छन्।

नेपाल र भारतबीच लामो समयदेखि समाधान हुन बाँकी सीमा विवाद तथा आर्थिक निर्भरताजस्ता विषय पनि रहेको उल्लेख गर्दै हमालले यस्ता मुद्दामा सरकारले स्पष्ट र निरन्तर धारणा राख्नुपर्ने बताएका छन्। उनका अनुसार संवेदनशील विषयमा उत्तेजक अभिव्यक्तिभन्दा प्रमाण, कूटनीतिक संवाद र स्थापित प्रक्रियालाई प्राथमिकता दिनुपर्छ।

हमालले छिमेकीसँगको मित्रता र राष्ट्रिय सार्वभौमिकताको रक्षा एकअर्काका विरोधी उद्देश्य नभएको पनि स्पष्ट पारेका छन्। उनका अनुसार मित्रवत् सम्बन्ध कायम राख्दै राष्ट्रिय हितको संरक्षण गर्नु राज्यको समानान्तर जिम्मेवारी हो।

“छिमेकी राष्ट्रहरूसँगको मित्रता र आफ्नो सार्वभौमिकताप्रतिको अडिग प्रतिबद्धता एकअर्काका प्रतिस्पर्धी उद्देश्य होइनन्। यी त एकअर्काका पूरक दायित्व हुन्,” हमालले लेखेका छन्।

अर्थमन्त्री वाग्लेको अभिव्यक्तिलाई लिएर भइरहेको बहसले नेपाल–भारत सम्बन्ध, राष्ट्रिय स्वाभिमान र सरकारका जिम्मेवार पदाधिकारीले सार्वजनिक रूपमा व्यक्त गर्ने धारणाको सीमाबारे फेरि प्रश्न उठाएको छ। कूटनीतिक विषयमा सरकारको आधिकारिक धारणा र व्यक्तिगत अभिव्यक्तिबीच स्पष्टता कायम राख्नुपर्ने बहससमेत यससँग जोडिएको छ।