काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख राष्ट्रिय चाडपर्वहरू सकिए लगत्तै देशमा आन्दोलनको आँधीबेहरी ल्याउने, सरकार परिवर्तन गर्ने आदि चर्चा चल्न थाल्नु विडम्वनापूर्ण र चिन्ताजनक भएको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले उन्नत बहुदलीय लोकतन्त्रमा सत्ताधारी र प्रतिपक्षी दलहरू हुन्छन् र उनीहरूवीच निरन्तर प्रतिष्पर्धा र सहकार्य हुनु, सदन र सडकमा आलोचना–प्रत्यालोचना हुनु बिल्कुल स्वाभाविक र आवश्यक कुरा भएको उल्लेख गर्दै निर्वाचन सम्पन्न भएको केही दिनदेखि नै सरकार फेर्ने वा ढाल्ने कुरा, जुन देशले विगतमा पटकपटक भोग्यो र त्यसको दुष्परिणाम देखिसक्यो, अब पनि दोहोर्याइरहनु भनेको देशलाई अनिश्चितताको भूमरीमा फसाइराख्ने, अर्थतन्त्रलाई पातालतिर धसाइराख्ने, छोराछोरी विदेशतिर लखेटेर बाबुआमा पुर्पुरोमा हात लगाएर बसिरहने, देशलाई मडारिदो भूराजनीतिक आँधीबेहरीको जोखिममा होम्ने अल्पदृष्टि र पटमूर्खता बाहेक अरू के हुनसक्छ ? भनी प्रश्न गरेका छन् । 

ad

उनले लेखेका छन्–अतः देश र जनताप्रति जिम्मेवार सबै नागरिक गम्भीर बनौं, सरकार र सत्ताका विभिन्न अंगमा रहेकाहरूलाई निरन्तर खबरदारी गरौं ! विशेषतः विपत्तिमा परेका, ऐतिहासिक बञ्चितीकरणमा परेका, निर्धानिमुखा जनताको आवाजले सत्तामा रहनेहरूको कान घोचीरहौं। सत्तामा बस्नेहरूले नसुने तिनलाई विधिसम्मत ढंगले दण्डित गरौं, हटाऊँ ! परन्तु निर्वाचित सरकारलाई संविधानको परिधिभित्र रहेसम्म आफ्नो पूरा अवधि काम गर्न दिऊँ ! काम नगरे वा विगारे अर्को चुनावबाट विदा गरौं !