
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली समाजमा आफ्नै विद्वान् र ज्ञानपरम्परालाई उपेक्षा गर्दै बाहिरबाट आउने व्यक्तिलाई बढी महत्त्व दिने प्रवृत्तिमाथि व्यङ्ग्य गरेका छन्। उनले समाजमा ‘नक्कली भगवान्’ जन्मिने क्रम बढेको टिप्पणी गर्दै स्वदेशी ज्ञान र दर्शनको सम्मान गर्नुपर्नेमा जोड दिएका हुन्।
मंगलबार काठमाडौंमा मदन भण्डारी स्मृति प्रतिष्ठान नेपालको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले नेपाली समाजको सोच र व्यवहारप्रति कटाक्ष गरेका हुन्।
पौराणिक प्रसङ्ग उल्लेख गर्दै उनले देवताको जन्म रोकिने अवस्थापछि नक्कली भगवान् जन्मिन थालेको भन्दै व्यङ्ग्य गरे। ‘पार्वतीले श्राप दिएपछि फेरि नक्कली भगवान् जन्मिएर हैरान छ,’ ओलीले भने।
ओलीले दक्षिणतिरबाट आउने जोगीलाई विशेष सम्मान गर्ने तर आफ्नै देशका विद्वान् र उनीहरूले तयार पारेका ग्रन्थलाई पर्याप्त महत्त्व नदिने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गरे।
आफ्नै समाजमा रहेका ज्ञान, दर्शन र बौद्धिक योगदानको पहिचान गर्न नसक्ने तर विदेशीका पुस्तक, विचार र भनाइलाई बढी महत्त्व दिने प्रवृत्ति उचित नभएको उनको भनाइ थियो।
उनको अभिव्यक्तिले नेपाली समाजमा स्वदेशी ज्ञानपरम्पराको मूल्याङ्कन र बाह्य व्यक्तिप्रतिको आकर्षणबीच देखिने अन्तरलाई व्यङ्ग्यात्मक रूपमा प्रस्तुत गरेको छ। ओलीले कार्यक्रममा यही प्रवृत्तिमाथि प्रश्न उठाउँदै आफ्नै विद्वान् र ज्ञानसम्पदाको महत्त्व बुझ्नुपर्ने सन्देश दिएका हुन्।









Facebook Comments