धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटमा शंकास्पद वस्तु विस्फोट हुँदा दुई जना घाइते भएका छन्। त्रिशूली नदी किनारमा फेला परेको वस्तु कोठामा ल्याएर फुटाउने क्रममा सोमबार दिउँसो विस्फोट भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार कात्तिक २ गते दिउँसो करिब १ः३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका छोराहरू २६ वर्षीय जंगे परियार तथा २४ वर्षीय रामचन्द्र परियारले नदी किनारमा शंकास्पद वस्तु फेला पारेका थिए। उनीहरू ज्यामिरेघाटस्थित एक घरमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

ad

नदी किनारबाट कोठामा ल्याइएको उक्त वस्तु फुटाउने प्रयास गर्दा विस्फोट भएको थियो। विस्फोटबाट निस्किएका छर्राले जंगे र रामचन्द्रको शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ।

घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज पठाइएको छ।विस्फोट भएको वस्तु के थियो भन्नेबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।