
काठमाडौं । देशका सात जिल्लामा पछिल्लो २४ घण्टामा भएका विभिन्न सवारी दुर्घटनामा नौ जनाको ज्यान गएको छ। दुर्घटनामा परी अन्य केही व्यक्ति घाइते भएका छन्। प्रहरीका अनुसार सिन्धुली, सुनसरी, उदयपुर, धनुषा, मोरङ, रौतहट र रोल्पामा दुर्घटना भएका हुन्।
केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित सडकमा आज बिहान सुमो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। काठमाडौँबाट खोटाङ जाँदै गरेको को१ज २९७६ नम्बरको सुमो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमध्ये खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ की २१ वर्षीया युपना राई पनि छन्।
उक्त दुर्घटनामा घाइते भएका चालक र एक यात्रुको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ भने अन्य दुई घाइतेलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगिएको प्रहरीले जनाएको छ।
सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार ५० वर्षीया रितादेवी यादवको मृत्यु भएको छ। इनरुवा नगरपालिका–९ बबियाकी यादव सवार को२५प २७४९ नम्बरको मोटरसाइकललाई लु२ख ६९१२ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा मोटरसाइकल र विद्युतीय गाडी आपसमा ठोक्किँदा ३० वर्षीय सुमन श्रेष्ठको मृत्यु भएको छ। प्र १–०५–००१ प ९६८२ नम्बरको मोटरसाइकल र बा०१–००६ ख ६८४४ नम्बरको विद्युतीय गाडी ठोक्किँदा स्थानीय श्रेष्ठले ज्यान गुमाएका हुन्।
धनुषाको जनकपुर उपमहानगरपालिका–१७ तेतरिया पुलमा दुई मोटरसाइकल ठोक्किँदा १८ वर्षीय सुजित यादवको मृत्यु भएको छ। ज ११ प ३०५८ र म प्र ०२–००९ प ११५७ नम्बरका मोटरसाइकल दुर्घटनामा परेका थिए। दुर्घटनामा घाइते भएका अन्य तीन जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
यसैगरी, मोरङको सुनवर्षी नगरपालिका–५ झुङ्गी टोलमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा ४७ वर्षीय शिवकुमार मण्डलको मृत्यु भएको छ। बीआर ३८ एच ३५०४ नम्बरको भारतीय मोटरसाइकल र प्र १–०२–०४५ प ८९६६ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए।
रौतहटको मौलापुर नगरपालिका–२ मर्यादपुरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ७० वर्षीया सोमरियादेवी ठाकुरको मृत्यु भएको छ। बा३७प ९९७७ नम्बरको मोटरसाइकलमा सवार ठाकुर फतुवा विजयपुर नगरपालिका–२ शीतलपुरकी बासिन्दा हुन्।
रोल्पाको माडी गाउँपालिका–१ चालाङ भिरमा आज बिहान अटो दुर्घटना हुँदा ३२ वर्षीया खुमाकुमारी भण्डारीको मृत्यु भएको छ। घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु प्र ०२–००१ ह १९४७ नम्बरको अटो दुर्घटनामा परेको हो। मृतक भण्डारी सोही गाउँपालिका–१ घोर्नेटीकी बासिन्दा रहेको प्रहरीले जनाएको छ।
सात जिल्लामा भएका यी दुर्घटनामा विभिन्न उमेर समूहका नौ जनाले ज्यान गुमाएका छन्। प्रहरीले दुर्घटनाबारे थप विवरण संकलन तथा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।









Facebook Comments