
काठमाडौं । बडादसैँ मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या पाँच लाखको हाराहारीमा पुगेको छ। घटस्थापनादेखि असोज ३१ गतेसम्म सार्वजनिक यातायात प्रयोग गरेर चार लाख ९६ हजार ३२३ जना उपत्यकाबाट बाहिरिएका छन्।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता नरेशराज सुवेदीका अनुसार असोज २५ गतेदेखि दसैँका लागि घर फर्किने यात्रुको चाप बढेको हो। यद्यपि, अघिल्ला दिनको तुलनामा आइतबार उपत्यका छाड्ने यात्रुको संख्या केही घटेको उनले बताएका छन्।
दसैँ मनाउन गाउँघर जाने यात्रुको चापका कारण उपत्यकाका प्रमुख बसपार्क तथा यातायात केन्द्रहरूमा भीड देखिएको छ। गोँगबुस्थित नयाँ बसपार्क, माछापोखरी, कलंकी, बल्खु, कोटेश्वर र गौशाला क्षेत्रमा यात्रुको आवागमन बढी रहेको छ।
उपत्यकाबाट बाहिरिने यात्रुहरूले विभिन्न नाका प्रयोग गरिरहेका छन्। फर्पिङ, नागढुंगा, थानकोट, भीमढुंगा, तीनपिप्ले, साँखु, भक्तपुरको जगाती र ललितपुरको भट्टेडाँडालगायतका मार्ग हुँदै सर्वसाधारण आफ्नो गन्तव्यतर्फ लागेका छन्।
दसैँमा परिवार र आफन्तसँग भेटघाट गर्न राजधानीबाट बाहिरिने यात्रुको संख्या बढेसँगै यातायात केन्द्र तथा उपत्यका बाहिरिने सडकहरूमा चहलपहल बढेको छ। असोज ३१ गतेसम्मको तथ्यांकअनुसार सार्वजनिक यातायातबाट बाहिरिनेको संख्या पाँच लाख पुग्न लागेको हो।









Facebook Comments