काठमाडौं । नेपाली अनुसन्धानकर्ता तथा सामाजिक वैज्ञानिक मन्दिरा लामिछाने धिमाल अन्तर्राष्ट्रिय साइन्स काउन्सिल (आईएससी) को फेलोमा चयन भएकी छन्। यो उपलब्धिसँगै उनी उक्त सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिला वैज्ञानिक बनेकी छन्।

आईएससीले सन् २०२६ का लागि विभिन्न देशका नयाँ फेलोहरूको नाम सार्वजनिक गर्दा धिमाल पनि छनोटमा परेकी हुन्। परिषद्का अनुसार यस वर्ष चयन भएका फेलोहरूले विश्वका करिब ३० देशको प्रतिनिधित्व गर्छन्। विज्ञानलाई मानव समाजको हितमा उपयोग गर्न उल्लेखनीय योगदान पुर्‍याएका वैज्ञानिक, अनुसन्धानकर्ता, नीतिनिर्माता तथा विज्ञलाई यो सम्मान प्रदान गरिन्छ।

ad

काठमाडौंस्थित प्लानेटरी हेल्थ रिसर्च सेन्टर (पीएचआरसी) मा रिसर्च डाइरेक्टर तथा फेलोका रूपमा कार्यरत धिमाल जलवायु परिवर्तन, वातावरणीय स्वास्थ्य, लैंगिक समानता र सार्वजनिक स्वास्थ्यसम्बन्धी अनुसन्धानमा सक्रिय छिन्। उनका अनुसन्धानले जलवायु परिवर्तनले मानव स्वास्थ्यमा पार्ने प्रभाव तथा दिगो विकासमा लैंगिक दृष्टिकोणको भूमिकालाई प्राथमिकता दिएका छन्।

वैज्ञानिक अनुसन्धानबाट प्राप्त प्रमाणलाई नीति निर्माणमा समेट्ने र स्वास्थ्य तथा वातावरणसँग जोडिएका चुनौतीको समाधान खोज्ने काममा समेत उनले योगदान दिँदै आएकी छन्। उनको अन्तर्राष्ट्रिय छनोटलाई नेपाली अनुसन्धान क्षेत्रको विश्वव्यापी उपस्थितिसँग जोडेर हेरिएको छ।

अन्तर्राष्ट्रिय साइन्स काउन्सिल सन् २०१८ मा स्थापना भएको अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था हो। विश्वभरका वैज्ञानिक संस्था र अनुसन्धान सञ्जाललाई एकीकृत गर्दै वैज्ञानिक सहकार्य विस्तार गर्नु तथा वैज्ञानिक ज्ञानलाई सार्वजनिक नीति र सामाजिक हितमा उपयोग गर्न प्रोत्साहन गर्नु यसको प्रमुख उद्देश्य हो।

सन् २०२२ मा सुरु गरिएको आईएससी फेलोसिप परिषद्ले प्रदान गर्ने विशिष्ट सम्मान हो। यसका फेलोहरूले विज्ञान र नीतिनिर्माणबीचको सम्बन्ध बलियो बनाउने, अन्तर्राष्ट्रिय वैज्ञानिक सहकार्य विस्तार गर्ने तथा समाजमा विज्ञानको योगदान बढाउने जिम्मेवारी निर्वाह गर्छन्। फेलो छनोटका लागि परिषद्का सदस्य संस्था, विद्यमान फेलो, नेतृत्व तहका अधिकारी तथा साझेदार सञ्जालबाट नाम सिफारिस हुने व्यवस्था छ।

नेपालबाट यसअघि सन् २०२३ मा मेघनाथ धिमाल आईएससी फेलोमा चयन भएका थिए। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्सँग आबद्ध प्रमुख अनुसन्धानकर्ता धिमालले जनस्वास्थ्य, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तनका क्षेत्रमा अनुसन्धान गर्दै आएका छन्। उनी उक्त सम्मान प्राप्त गर्ने पहिलो नेपाली नागरिक हुन्।

मन्दिरा लामिछाने धिमालको छनोटसँगै आईएससी फेलोमा सम्मानित नेपालीको सूचीमा अर्को नाम थपिएको छ भने यो सम्मान प्राप्त गर्ने पहिलो नेपाली महिलाका रूपमा उनको उपलब्धि स्थापित भएको छ।