
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेश प्रदेशमा नेकपा एमालेसँग गठबन्धन गरेर सरकारमा सहभागी हुने कुनै योजना नरहेको स्पष्ट पारेको छ। एमालेसँग सत्ता सहकार्य गर्ने विषयमा पार्टीले न निर्णय गरेको छ, न कुनै समझदारी नै बनेको अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ।
मधेश प्रदेशमा एमालेले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादव नेतृत्वको सरकार संकटमा परेको छ। यही राजनीतिक परिस्थितिबीच जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सरोजकुमार यादवलगायत नेताहरूले शनिबार एमाले अध्यक्षसँग गुन्डुमा भेट गरेका थिए।
उक्त भेटपछि जसपा नेपाल एमालेसँग मिलेर मधेशमा नयाँ सत्ता समीकरण बनाउने तयारीमा रहेको चर्चा चलेको थियो। तर, अध्यक्ष यादवको सचिवालयले त्यसलाई अस्वीकार गर्दै भेटलाई सत्ता सहकार्यसँग जोडेर गरिएको प्रचार भ्रामक भएको दाबी गरेको छ।
सचिवालयले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको धारणा अनुसार जसपा नेपालले एमालेसँग सहकार्य गरी सरकारमा सहभागी हुने नीतिगत निर्णय गरेको छैन। तत्काल यस्तो सहकार्य सम्भव नरहेको पनि सचिवालयको भनाइ छ।
‘बेग्लै प्रसंगमा खिचिएको फोटो राखी फेसबुक तथा सामाजिक सञ्जाललाई केही व्यक्तिहरूले दुरुपयोग गरी गलत, भ्रमात्मक दुश्प्रचार गरेको’ भन्दै सचिवालयले त्यसप्रति असन्तुष्टि जनाएको छ।
जसपा नेपालले मधेश प्रदेशमा सरकार गठनका लागि हालसम्म कुनै दाबी प्रस्तुत नगरेको र अन्य दलसँग समर्थनसमेत नमागेको स्पष्ट पारेको छ। त्यस्तै, कुनै दलसँग समर्थन दिने वा लिने विषयमा सम्झौता नभएको पनि सचिवालयले जनाएको छ।
एमालेले समर्थन फिर्ता लिएपछि मधेश प्रदेशको सत्ता समीकरण अनिश्चित बनेका बेला जसपा नेपालको यो स्पष्टीकरणले पार्टी तत्काल एमालेसँग मिलेर सरकार बनाउने तयारीमा नरहेको संकेत गरेको छ। यद्यपि, प्रदेशमा आगामी सत्ता समीकरण कस्तो बन्ने भन्ने विषय भने अन्य दलहरूको राजनीतिक निर्णयमा निर्भर रहनेछ।









Facebook Comments