
काठमाडौं । नेपाली कांग्रेसले बाढीपहिरोबाट भएको जनधनको क्षति र शोकको अवस्थालाई मध्यनजर गर्दै यस वर्ष कोजाग्रत पूर्णिमामा आयोजना गर्दै आएको चियापान समारोह नगर्ने निर्णय गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार भोटेकोशीमा आएको बाढीबाट ठूलो संख्यामा मानिसको मृत्यु तथा बेपत्ता हुनुका साथै बूढीगण्डकीमा आएको बाढीले समेत जनधनको क्षति पुर्याएकाले चियापान कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको हो।
पार्टीले विपद्मा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रभावित परिवारप्रति समवेदना प्रकट गरेको छ। दुःख र शोकको यस घडीमा उत्सवमूलक कार्यक्रम गर्नु उपयुक्त नहुने ठहरसहित यस वर्षको चियापान स्थगित गरिएको कांग्रेसले जनाएको छ।
कांग्रेसले २०३४ सालदेखि प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। पार्टीका संस्थापक नेता बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्किएपछि त्यसको अर्को वर्षदेखि शुभकामना आदानप्रदान, आपसी सद्भाव र राजनीतिक सहकार्यको वातावरण निर्माण गर्ने उद्देश्यले यो परम्परा सुरु गरिएको थियो।
यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले चाडपर्व मनाउँदा भड्किलोपनभन्दा सादगी र संयमलाई प्राथमिकता दिन आग्रह गरेका छन्। उनले वर्तमान परिस्थितिलाई ध्यानमा राख्दै चाडपर्व परिवारभित्र सीमित भएर शान्त र संयमित रूपमा मनाउन अनुरोध गरेका हुन्।
बाढीपहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै चियापान कार्यक्रम नगर्ने कांग्रेसको निर्णयले यस वर्ष पार्टीको लामो समयदेखिको परम्परामा विराम लाग्ने भएको छ।









Facebook Comments