जुम्ला। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लाको पातारासी गाउँपालिका–७, रिनीस्थित सरस्वती माध्यमिक विद्यालयका तीन सय विद्यार्थीलाई न्यानो स्वेटर वितरण गरेको छ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आफ्नो जुम्ला शाखामार्फत विद्यालयमा आयोजित एक कार्यक्रममा विद्यार्थीलाई स्वेटर हस्तान्तरण गरेको हो। चिसो मौसममा न्यानो कपडाको अभावका कारण पठनपाठनमा कठिनाइ भोग्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै ग्रामीण क्षेत्रका विपन्न परिवारका विद्यार्थीलाई लक्षित गरी उक्त सहयोग प्रदान गरिएको बैंकले जनाएको छ।

ad

स्वेटर वितरणले विद्यार्थीलाई जाडोयाममा विद्यालय आउन सहज बनाउनुका साथै उनीहरूको नियमित पठनपाठनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ। ग्रामीण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक वातावरण सुधार गर्न यस्ता सामाजिक कार्यक्रमले सकारात्मक योगदान पुर्‍याउने बैंकको विश्वास छ।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रममार्फत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रको विकास र समुदायमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने जनाएको छ।

बैंकिङ सेवाको विस्तार र प्रविधिमैत्री सेवामा समेत सक्रिय सिटिजन्स बैंकले यसअघि फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको थियो। त्यस्तै, युवालक्षित ‘सिटिजन्स जेन–जी सेभिङ्स अकाउन्ट’, एकीकृत अनलाइन प्लेटफर्म ‘सिटिजन्स डिजी बैंक सेवा’ तथा स्वतन्त्र रूपमा काम गर्ने व्यक्तिहरूलाई लक्षित ‘फ्रिलान्सर सेविङ्स अकाउन्ट’ पनि सञ्चालनमा ल्याएको छ।

यसका अतिरिक्त बैंकले मोबाइल बैंकिङ एपबाटै शेयर आवेदन तथा सीआरएन नम्बरसम्बन्धी सेवा लिन सकिने सुविधा र अन्य बैंकका ग्राहकले समेत सिटिजन्स बैंकका शाखाबाट टेलर क्यूआर स्क्यान गरी नगद प्राप्त गर्न सक्ने क्रस बैंक टेलर सेवा उपलब्ध गराउँदै आएको छ।

‘बैंक अफ द इयर २०२४’ र ‘बैंक अफ द इयर २०२५’ को उपाधि प्राप्त गरेको बैंकले देशका ६१ जिल्लामा रहेका २०० शाखा, १६७ एटीएम, तीन विस्तारित काउन्टर र ४२ शाखारहित बैंकिङ एकाइमार्फत २० लाख ७८ हजारभन्दा बढी ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ।