काठमाडौं । चाडपर्व नजिकिँदै गर्दा काठमाडौं उपत्यकामा खाना पकाउने एलपीजी ग्यासको अभाव कायमै छ। ग्यास खोज्दै डिपो पुग्ने उपभोक्ता घण्टौँ लाइनमा बस्न बाध्य छन्। सरकारले सबै ब्रान्डका सिलिन्डर साट्न सकिने व्यवस्था गरेको बताए पनि व्यवहारमा भने धेरै उपभोक्ताले रित्तो हात फर्किनुपरेको गुनासो गरेका छन्।

कलंकीस्थित साइबाबा र श्रीकृष्ण ग्यास डिपोमा बिहानैदेखि उपभोक्ताको लामो लाइन लागेको थियो। विभिन्न कम्पनीका सिलिन्डर बोकेर पुगेका उपभोक्तामध्ये केहीले मात्रै ग्यास साट्न पाएका थिए। डिपोमा आफ्नै ब्रान्डका सिलिन्डर सहज रूपमा साटिए पनि अन्य कम्पनीका सिलिन्डर सीमित सङ्ख्यामा मात्रै साटिएको उपभोक्ताको भनाइ छ।

ad

खाना पकाउने ग्यासको अभावले दैनिक जीवन प्रभावित भइरहेका बेला उपभोक्ता बिहानैदेखि लाइनमा बस्न बाध्य भएका हुन्। कतिपयले बिहानको खाना नखाई ग्यास खोज्न निस्कनुपरेको बताएका छन्।

श्रीकृष्ण ग्यासका म्यानेजर राजेन्द्र पाठकका अनुसार आइतबार डिपोमा १ हजार ८ सय सिलिन्डर ग्यास आइपुगेको थियो। सडक अवरोध हटेर यातायात सञ्चालन हुन थालेपछि आपूर्ति क्रमशः सहज हुँदै गएको उनको दाबी छ।

उनका अनुसार जोरपाटी, थानकोट लगायतका क्षेत्रमा डिलरमार्फत ग्यास पठाइएको छ। डिपोमा लाइन लागेका उपभोक्तालाई खाली हात नफर्काउने उद्देश्यले खुद्रा बिक्रीसमेत गरिएको उनले बताए।

तर, नियमित ग्राहकलाई प्राथमिकता दिनुपर्ने भएकाले अन्य ब्रान्डका सिलिन्डर साट्ने काम सीमित मात्रामा भइरहेको पाठकको भनाइ छ। यसले सबै ब्रान्डका सिलिन्डर साट्न सकिने सरकारी घोषणाको व्यावहारिक कार्यान्वयनमा चुनौती देखिएको छ।

एक सातादेखि ग्यास नपाउँदा चाउचाउको भर
कीर्तिपुरका मुरारी न्यौपानेले एक सातादेखि ग्यास नपाएको गुनासो गरे। आइतबार बिहान ९ बजेदेखि कलंकीस्थित डिपोमा लाइनमा बसे पनि आफ्नो सूर्य ग्यासको सिलिन्डर साट्न नपाएको उनले बताए।
ग्यास नपाउँदा खाना पकाउनसमेत समस्या भएको र चाउचाउ खाएर दिन बिताउनुपरेको उनको भनाइ छ।

सरकारले जुनसुकै ब्रान्डका सिलिन्डर साट्न सकिने व्यवस्था गरेको प्रचार गरे पनि डिपोमा पुग्दा त्यो सुविधा सहज रूपमा नपाइएको न्यौपानेको गुनासो छ। उपभोक्तालाई स्पष्ट जानकारी नदिँदा समय र श्रम खेर गइरहेको उनले बताए।

कीर्तिपुरकै दिनेश शर्मा पनि २० दिनदेखि ओम ग्यास नपाएर समस्यामा परेको बताउँछन्। विभिन्न ठाउँमा ग्यास खोज्दा पनि नपाएको भन्दै उनले बजारमा व्यवस्थित वितरण प्रणाली र भरपर्दो सूचना व्यवस्थापन आवश्यक रहेको बताए।

चाडपर्वको समयमा ग्यासको अभाव भएपछि विद्युतीय चुलोको सहारामा गुजारा गरिरहेको उनको भनाइ छ। ग्यास उपलब्ध हुने स्थान र वितरणको समयबारे उपभोक्ताले समयमै जानकारी पाउने व्यवस्था मिलाउनुपर्ने उनले माग गरे।

२० दिनदेखि ग्यास नपाएपछि डिपो चहार्दै विद्यार्थी
कुपण्डोलमा बस्ने विद्यार्थी भुवन बस्नेत पनि ग्यास खोज्दै डिपो–डिपो धाउन बाध्य भएका छन्। ग्यास सकिएको २० दिन बितिसक्दा पनि डिलरले आजभोलि भन्दै टार्ने गरेको उनले बताए।

घरमा खाना पकाउने ग्यास नहुँदा साथीकहाँ गएर खाना खानुपर्ने अवस्था आएको उनको भनाइ छ। डिलरबाट सहज रूपमा ग्यास नपाएपछि सिलिन्डर बोकेर विभिन्न डिपो पुग्नुपरेको उनले बताए।साना डिलरमार्फत समेत नियमित र सहज रूपमा ग्यास वितरण हुने व्यवस्था मिलाउन उनले सम्बन्धित निकायसँग आग्रह गरेका छन्।

ग्यासको अभावले घरायसी उपभोक्ता मात्रै होइन, साना व्यवसायी पनि प्रभावित भएका छन्। कलंकीकी इन्दिरा निरौला ग्यास नपाएकै कारण आफूले सञ्चालन गर्दै आएको होटल बन्द गर्नुपर्ने अवस्था आएको बताउँछिन्।
करिब १५ दिनअघि ग्यास सकिएपछि सिलिन्डर साट्न आइतबार बिहान ५ बजेदेखि लाइनमा बसे पनि दिउँसोसम्म ग्यास नपाएको उनले गुनासो गरिन्।

खाना पकाउने ग्यासमा निर्भर होटल व्यवसायमा आपूर्ति अवरुद्ध हुँदा दैनिक कारोबार नै प्रभावित भएको उनको भनाइ छ। चाडपर्वको समयमा ग्राहकको चहलपहल बढ्ने अपेक्षा गरिए पनि ग्यास नहुँदा व्यवसाय सञ्चालन गर्न कठिन भएको उनले बताइन्।
घोषणा र वास्तविक वितरणबीच दूरी

वितरकहरूले सडक खुलेसँगै ग्यास आपूर्ति क्रमशः सहज हुने बताइरहेका छन्। तर, उपभोक्ताले घण्टौँ लाइन बसेर पनि ग्यास नपाउने अवस्था कायम रहँदा आपूर्ति व्यवस्थापनमा समस्या देखिएको छ।

विशेषगरी कुन डिपोमा कुन ब्रान्डको ग्यास उपलब्ध छ, कति सिलिन्डर वितरण हुँदैछ र अन्य ब्रान्डका सिलिन्डर साट्न पाइन्छ कि पाइँदैन भन्ने जानकारी स्पष्ट नहुँदा उपभोक्ता अन्योलमा परेका छन्।

सबै ब्रान्डका सिलिन्डर साट्न सकिने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकिए उपभोक्ताले थप सास्ती भोग्नुपर्ने देखिन्छ। नियमित आपूर्ति सुनिश्चित गर्नुका साथै वितरण प्रणालीलाई पारदर्शी बनाउनुपर्ने आवश्यकता देखिएको छ।

चाडपर्वको मुखमा खाना पकाउने ग्यासजस्तो अत्यावश्यक वस्तुका लागि नागरिकले दिनभर समय खर्चिनुपर्ने अवस्थाले आपूर्ति व्यवस्थापनमा तत्काल सुधार गर्नुपर्ने देखाएको छ। सम्बन्धित निकायले ग्यासको मौज्दात, वितरणको अवस्था र डिलरको आपूर्तिबारे नियमित अनुगमन गरी उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने देखिन्छ।