
काठमाडौं । नेपाल एलपी ग्यास उद्योग सङ्घले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको वितरण प्रणाली नियमित हुँदै गएको जनाएको छ। सङ्घले मंगलबार विज्ञप्ति जारी गर्दै उपभोक्ताले नजिकैका आधिकारिक विक्रेतामार्फत ग्यास खरिद गर्न सक्ने अवस्था बनेको दाबी गरेको हो।
ग्यासको सहज आपूर्तिका लागि यसअघि लागू गरिएको फरक ब्रान्डका सिलिन्डर साटासाट गरी बिक्री गर्न सकिने विशेष व्यवस्था भने असोज २८ गते बुधबारसम्म मात्र कायम रहने सङ्घले स्पष्ट पारेको छ। त्यसपछि विक्रेतामार्फत नियमित प्रक्रियाअनुसार ग्यास बिक्री वितरण गरिने जनाइएको छ।
आधिकारिक विक्रेताबाट ग्यास किन्न आग्रह
सङ्घले उपभोक्ता तथा सरोकारवालालाई आफू नजिकको आधिकारिक ग्यास विक्रेतासँग सम्पर्क गरी नियमित रूपमा सिलिन्डर खरिद गर्न आग्रह गरेको छ। वितरण प्रक्रियालाई सामान्य अवस्थामा फर्काउने उद्देश्यले संयुक्त बिक्रीको व्यवस्था हटाउन लागिएको सङ्घको भनाइ छ।
यसअघि उपभोक्तालाई ग्यासको अभावबाट राहत दिन असोज २५ देखि ३० गतेसम्म फरक–फरक ब्रान्डका सिलिन्डर साटासाट गरेर बिक्री गर्न पाउने व्यवस्था गरिएको थियो। उक्त सुविधाका कारण उपभोक्ताले आफूले नियमित प्रयोग गर्दै आएको ब्रान्ड उपलब्ध नभएमा अर्को ब्रान्डको भरिएको सिलिन्डरसमेत खरिद गर्न सक्ने व्यवस्था थियो।
तर, विक्रेतामार्फत नियमित वितरण प्रणाली सञ्चालन गर्ने तयारीसँगै उक्त अस्थायी व्यवस्थाको अवधि छोट्याइएको सङ्घले जनाएको छ।
आपूर्ति सहज भएको दाबी, उपभोक्ताको सास्ती कायमै
सङ्घले ग्यास वितरण सहज बन्दै गएको बताए पनि उपभोक्ताले अझै सिलिन्डर खरिद गर्न कठिनाइ भोगिरहेको अवस्था छ। आपूर्ति नियमित भएको व्यवसायीको दाबी र बजारमा उपभोक्ताले सामना गरिरहेको समस्याबीचको अन्तरले ग्यास वितरण पूर्ण रूपमा सामान्य भइसकेको विषयमा प्रश्न उठाएको छ।
विशेष व्यवस्था हटाएर नियमित बिक्री प्रणालीमा फर्कने निर्णय कार्यान्वयन भएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउँछन् वा पाउँदैनन् भन्ने कुरा आगामी दिनको आपूर्ति र वितरण व्यवस्थाले स्पष्ट पार्नेछ।








Facebook Comments