
काठमाडौं । सवारी साधनको दर्ता, नामसारी तथा बीमा नवीकरणसम्बन्धी सेवा लिन अब सवारी धनी स्वयं यातायात व्यवस्था कार्यालयमा उपस्थित हुनुपर्ने बाध्यता हटाइएको छ। सेवा प्रवाहलाई सरल बनाउने उद्देश्यले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का केही प्रावधान संशोधन गरिएको हो।
संशोधित व्यवस्थाले नयाँ तथा पुराना सवारी साधनको दर्ता र स्वामित्व हस्तान्तरण प्रक्रियालाई सहज बनाउने अपेक्षा गरिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार नयाँ प्रावधानले सेवाग्राहीलाई अनावश्यक झन्झटबाट मुक्त गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनेछ।
नयाँ व्यवस्थाअनुसार डिलरबाट गरिएको सवारी साधनको जाँचलाई मान्यता दिइनेछ। यसका लागि सवारी साधनलाई पुनः यातायात व्यवस्था कार्यालयमा लगेर जाँच गराउनुपर्ने छैन।
सवारी खरिदकर्ताले वारेसनामा दिएर आफ्नो सट्टा अर्को व्यक्तिमार्फत दर्ता तथा नामसारीको काम गराउन सक्नेछन्। यसका लागि वारेसनामा प्राप्त व्यक्तिले आफ्नो सक्कल परिचयपत्र, खरिदकर्ताको फोटो र खरिदकर्ताको सक्कल परिचयपत्र लिएर सम्बन्धित कार्यालयमा उपस्थित हुनुपर्नेछ।
संशोधित प्रावधानले सवारी साधनको बीमा तथा बीमा नवीकरणका लागि समेत सवारी धनी स्वयं उपस्थित हुनुपर्ने व्यवस्था हटाएको छ। यसबाट बीमा सेवासम्बन्धी काममा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ।
सवारी साधनको नामसारी प्रक्रियामा आवश्यक बायोमेट्रिक विवरण संकलन गर्न यातायात व्यवस्था कार्यालयले सवारी विक्रेता, वितरक तथा कम्पनीलाई आवश्यक प्राविधिक पहुँच उपलब्ध गराउने व्यवस्था पनि संशोधनमा समेटिएको छ।
यी परिवर्तनले सवारी दर्ता तथा नामसारीका लागि कार्यालय धाउनुपर्ने झन्झट कम गर्नुका साथै समय र खर्च बचत गर्ने अपेक्षा गरिएको छ। मन्त्रालयले संशोधित व्यवस्थाबाट यातायातसम्बन्धी सेवा थप सरल, सहज र सेवाग्राहीमैत्री हुने विश्वास व्यक्त गरेको छ।









Facebook Comments