काठमाडौं ।गोरखाको बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीको मुख्य कारण हिमपहिरो र हिउँ, पानी तथा गेग्रान मिसिएको विशाल पहिरो रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निष्कर्ष निकालेको छ। प्राधिकरणले सार्वजनिक गरेको प्राविधिक प्रतिवेदनअनुसार पहिरोबाट आएको ठूलो परिमाणको गेग्रानले नदीको बहाव अवरुद्ध गर्नुका साथै एकाएक खुल्दा तल्लो तटीय क्षेत्रमा ठूलो बाढी आएको हो।

प्रतिवेदनअनुसार आइतबार बिहान ४ बजेर २० मिनेटतिर गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित चमार हिमाल र स्येराङ्गी हिमालबीचको उङ्दिलुङ खोलाको माथिल्लो क्षेत्रमा पहिरो गएको थियो। हिमाली क्षेत्रमा पाइने तुलनात्मक रूपमा कमजोर चट्टान रहेको स्थानमा पहिरो गएको प्राधिकरणको आकलन छ।

ad

करिब ६ हजार मिटर उचाइमा हिमपहिरो गएको र त्यसको तल करिब ५ हजार ५०० मिटरको उचाइबाट हिउँ तथा गेग्रानसहितको पहिरो खसेको प्रतिवेदनमा उल्लेख छ। उक्त पहिरो उङ्दिलुङ खोलाको सिरानबाट दक्षिणतर्फ बगेको थियो।

गेग्रानले खोलाको बहाव रोकिँदा बाढी

प्राधिकरणका अनुसार पहिरोसँगै आएको हिउँ, पानी, माटो र ढुंगाको ठूलो परिमाण साँघुरो खोलामा जम्मा भएपछि पानीको बहाव अवरुद्ध भएको थियो। उङ्दिलुङ खोला र स्यार खोलाको दोभानमा गेग्रान थुप्रिँदा स्यार खोलाको पानी रोकिएको र पछि एकाएक बग्न थालेको अनुमान गरिएको छ।

ठूलो पहिरो जानुअघि र त्यसपछि पनि उक्त क्षेत्रमा साना पहिरो गएको देखिएको प्रतिवेदनमा उल्लेख छ। पहिरोबाट आएको गेग्रानले खोलाका दुवै किनारमा करिब तीन मिटरसम्मको उचाइमा प्रभाव पारेको जनाइएको छ।

उङ्दिलुङ र स्यार खोलाको दोभानमा पानी थुनिने र खुल्ने क्रमसँगै स्यार खोला तथा बुढीगण्डकी नदीको बहावमा उतारचढाव आएको प्राधिकरणको निष्कर्ष छ। यही प्रक्रियाले बुढीगण्डकीको तल्लो क्षेत्रमा पटक–पटक बाढी आउन भूमिका खेलेको प्रतिवेदनमा उल्लेख छ।

बाढीको आकार ठूलो हुनुमा स्यार खोलामा थुनिएर जम्मा भएको पानी मात्रै नभई उङ्दिलुङ खोलाबाट आएको विशाल गेग्रानको पनि महत्त्वपूर्ण भूमिका रहेको प्राधिकरणले जनाएको छ।

सल्लेरी हुँदै सिर्दिबासमा पहिलो प्रभाव

प्रतिवेदनअनुसार बाढी पहिलोपटक बिहान करिब साढे ४ बजे सल्लेरी पुगेको थियो। बाढीबाट प्रभावित पहिलो बस्ती सिर्दिबास रहेको जनाइएको छ। बाढीको उचाइ २० देखि २५ मिटरसम्म पुगेको प्रतिवेदनमा उल्लेख छ।

सबैभन्दा ठूलो बाढीको सतहले तल्लो क्षेत्रमा व्यापक क्षति पुर्‍याएको देखिएको छ। विशेषगरी जगत क्षेत्रमा भवन तथा सोती खोला र बुढीगण्डकी नदीमाथिका पक्की पुललगायत संरचनामा ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ।

सबैभन्दा ठूलो बाढी आउनुभन्दा करिब एक घण्टाअघि स्यार खोलाको बहाव रोकिएको प्रतिवेदनमा उल्लेख छ। स्थलगत अवलोकनका क्रममा स्यार खोलाको माथिल्लो क्षेत्रमा करिब डेढ किलोमिटरसम्म पानी जम्मा भएको देखिएको थियो। मुख्य बाढी पार भइसकेपछि पनि साना बाढी आउने क्रम जारी रहेको जनाइएको छ।

माटोको मात्रा बढी हुँदा बाढीको बहाव सुस्त

प्राविधिक अध्ययनअनुसार बाढीमा बालुवा र साना–ठूला ढुंगाको तुलनामा माटोको मात्रा बढी थियो। उद्गमस्थलमा रहेको पत्रे चट्टान र गेग्रानमा माटोको अंश तुलनात्मक रूपमा धेरै भएकाले बाढीको प्रवाह सामान्य पानीको बहावभन्दा बाक्लो र सुस्त प्रकृतिको बनेको प्रतिवेदनले औंल्याएको छ।

यही पहिरोले भूकम्पको जस्तै धक्का उत्पन्न गरेको पनि उल्लेख गरिएको छ। खानी तथा भूगर्भ विभागको प्रारम्भिक आकलनअनुसार पहिरोका कारण करिब ३.५ म्याग्निच्युडको भूकम्प बराबरको ऊर्जा उत्पन्न भएको थियो।

पाँच जना सम्पर्कविहीन, दुई सयभन्दा बढी घरमा क्षति

बाढी र पहिरोका कारण पहिरो प्रभावित क्षेत्रबाट पाँच जना स्थानीय सम्पर्कविहीन भएको विवरण सार्वजनिक भएको छ। बुढीगण्डकी नदीको तल्लो क्षेत्र हुँदै आरुघाटसम्म दुई सयभन्दा बढी घर बगाएको जनाइएको छ।

त्यसैगरी, पक्की तथा झोलुङ्गे पुल गरी आधा दर्जनभन्दा बढी पुलमा क्षति पुगेको छ। बाढीले बस्ती, आवास र नदीमाथिका पूर्वाधारमा व्यापक क्षति पुर्‍याएको प्रारम्भिक विवरणले देखाएको छ।

प्राधिकरणको प्राविधिक प्रतिवेदनले घटनाको मुख्य कारण हिमाली क्षेत्रमा गएको ठूलो पहिरो, त्यसबाट आएको गेग्रान र खोलाको बहाव अवरुद्ध भई एकाएक खुल्ने प्रक्रियालाई मानेको छ।