काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वन तथा भूमिसम्बन्धी कानुन संशोधन गर्नेसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।

राष्ट्रपति पौडेलले मंगलबार दिउँसो ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

ad

राष्ट्रपतिको कार्यालयका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम दुवै अध्यादेश जारी गरिएको हो।

यी अध्यादेश जारी भएसँगै वन तथा भूमिसम्बन्धी कानुनी व्यवस्थामा संशोधन गर्ने प्रक्रिया अघि बढेको छ। यद्यपि, अध्यादेशमा समेटिएका संशोधनका विस्तृत प्रावधानबारे राष्ट्रपतिको कार्यालयले जारी गरेको सूचनामा खुलाइएको छैन।

संविधानको धारा ११४ को उपधारा (१) ले संघीय संसद्का दुवै सदनको अधिवेशन चालु नरहेको अवस्थामा आवश्यक परे मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी गर्न सकिने व्यवस्था गरेको छ।