काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई खुट्टा बाँधेर दौडिन लगाइएको गुनासो गरेका छन् ।

विराटनगरमा भएको अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनलाई सम्बोधन गर्दै  उनले भने– प्रदेशलाई खुट्टा बाँधेर दौडिन लगाइएको छ, अनि नाच्न जान्दैन भन्छन्, ‘कानुन नबन्दा प्रदेश सरकारले चाहेजति सेवा प्रवाह गर्न सकेको छैन।

ad

संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माण र अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारहरूले प्रभावकारी रूपमा काम गर्न नसकेको उनको भनाई थियो । उनले संविधानमा व्यवस्था गरिएका एकल तथा साझा अधिकारका सूचीअनुसार कानुन निर्माण हुन नसक्नु नै अहिलेको मुख्य समस्या रहेको बताए।

उनले प्रहरी समायोजन र निजामती कर्मचारी व्यवस्थापनलगायत विषयमा कानुनी जटिलता कायमै रहेको भन्दै संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन निर्माणमा समेत ढिलाइ भइरहेको बताए। प्रदेश सरकारका कामकारबाहीमा विभिन्न कोणबाट अवरोध भइरहेको उनले बताए ।