
काठमाडौं । कोशी प्रदेशको विराटनगरमा ‘अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलन–२०८३’ सुरू भएको छ। सम्मेलनमा सुदूरपश्चिमबाहेक ६ प्रदेशका मुख्यमन्त्रीहरू सहभागी छन्।
संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक र प्रशासनिक जटिलतालगायत विषयमा मुख्यमन्त्री सम्मेलनमा छलफल भएको छ ।
जलवायु परिवर्तनका कारण पछिल्ला वर्षहरूमा बढ्दै गएको विपद् कुनै एक प्रदेशको मात्र नभई समग्र देशकै साझा संकट भएको निष्कर्ष निकाल्दै प्रदेश सरकारहरूले आपत्कालीन व्यवस्थापनमा आपसी समन्वय र सहकार्यलाई तीव्रता दिनुपर्नेमा जोड दिएका छन्।
विपद्को पूर्वतयारी, खोज, उद्धार तथा राहत वितरणलाई थप द्रुत र प्रभावकारी बनाउन सातै प्रदेशको संयुक्त सहभागितामा ‘एकीकृत अन्तरप्रदेश विपद् व्यवस्थापन तथा राहत कोष’ स्थापना गर्नुपर्ने प्रस्ताव अघि सारिएको छ।
यस्तै संघीयताको वास्तविक मर्म र अभ्यासका विषयमा पनि गम्भीर समीक्षा सुरु भएको छ। सिंहदरबारमा केन्द्रीकृत रहेको अधिकारलाई प्रदेश राजधानीसम्म मात्रै सार्नुलाई मात्र संघीयता मान्न नसकिने भन्दै राजनीतिक तथा प्रशासनिक शक्ति र स्रोतसाधनलाई तल्लो तहसम्म लैजानु नै वास्तविक संघीयता भएको स्पष्ट पारिएको छ।
अधिकार र स्रोतको व्यावहारिक विकेन्द्रीकरणले मात्र नागरिकले संघीयताको प्रत्यक्ष अनुभूति गर्न सक्ने र विपद्का समयमा पनि तल्लो तहबाटै द्रुत सेवा प्रवाह सम्भव हुने बुझाइ सामूहिक रूपमा बनाइएको छ।









Facebook Comments