
ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका–३ स्थित दोभान बजारमा बिहीबार भएको आगलागीका कारण रु १४ करोड ५६ लाखको क्षति भएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार घरसहित विभिन्न मालसामान जलेर सो रकम बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कमल बजगाईंले जानकारी दिए । उनका अनुसार आगलागीबाट खाद्यान्न, किरानालगायतका पसल, अलैँची गोदाम, भाँडावर्तनसहितका घरायसी सामाग्री, नगद तथा सुनका गरगहना जलेका छन् ।
पीडित परिवारले दिएको जानकारी तथा आगलागीले ध्वस्त भएका संरचनाको अवस्था हेरेर प्रारम्भिक क्षतिको विवरण एकिन गरिएको प्रहरी नायब उपरीक्षक बजगाईंले जानकारी दिए । आगलागीबाट ८ परिवारका १० वटा घर जलेका थिए । स्थानीय याम लिम्बू, घनश्याम खरेल, राजु शेर्पा, सुकविर लिम्बू, डण्डु शेर्पा, भीम लिम्बू, राजेन्द्र पौडेल र चन्द्र पौडेलको घर जलेको थियो ।
प्रहरी नायब उपरीक्षक बजगाईंका अनुसार स्थानीय घनश्याम खरेलको रु दुई करोड बराबरको अलैँची राखिएको गोदाम जलेर पूर्णरूपमा ध्वस्त भएको थियो । जलेका घरहरूमा अन्य १४ परिवारले भाडामा कोठा, गोदाम लिएर बसोबाससहित विभिन्न व्यापार व्यवसाय गर्दै आएका थिए । उनिहरुको समेत सामान जलेर नष्ट भएको थियो ।
नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको टोलीसहित स्थानीयले आगो नियन्त्रणमा लिएका थिए । आगलागी प्रभावित परिवारलाई तत्कालका लागि आवश्यक राहत तथा उद्धार कार्यमा जोड दिइएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बताए ।









Facebook Comments