काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति सदस्यको खुलातर्फको मतगणना भोलि बिहान ८ बजेदेखि हुने भएको छ।

केन्द्रीय निर्वाचन समितिले सूचना जारी गर्दै केन्द्रीय सदस्य (प्रत्यक्ष, खुला) पदको मतपत्र नम्बर ४ को गणना निर्धारित समयदेखि सुरु गरिने जनाएको हो।

ad

समितिका अनुसार मतगणना ललितपुरस्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपी नगरमा हुनेछ।

मतगणनालाई व्यवस्थित बनाउन निर्वाचन समितिले उम्मेदवारको उपस्थितिसम्बन्धी व्यवस्था पनि लागू गरेको छ। सूचनाअनुसार केन्द्रीय सदस्य पदका उम्मेदवार स्वयंलाई मात्र मतगणनास्थलमा प्रवेश दिइनेछ। उम्मेदवारका अन्य प्रतिनिधिलाई भने प्रवेश अनुमति नदिइने जनाइएको छ।

निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले हस्ताक्षर गरेको सूचनामार्फत मतगणनाको समय, स्थान र प्रवेशसम्बन्धी व्यवस्थाबारे जानकारी गराइएको हो।