
काठमाडौं । त्रिशूली नदीको कटानका कारण धादिङको गल्छेउँदी क्षेत्रमा सडक भासिएपछि अवरुद्ध पृथ्वी राजमार्ग आइतबार साँझसम्म दुईतर्फी सञ्चालनमा नआउने भएको छ। सडक विभागका अनुसार भासिएको सडक मर्मत तथा विस्तारको काम जारी रहेकाले पूर्ण रूपमा यातायात सञ्चालन गर्न थप समय लाग्ने भएको हो।
गजुरी गाउँपालिकानजिकै काठमाडौं जानेतर्फ पर्ने गलौदी क्षेत्रमा नदीको कटानले सडकको भाग भासिएपछि सवारी आवागमन ठप्प भएको छ। राजमार्ग अवरुद्ध हुँदा काठमाडौं जाने र काठमाडौं हुँदै बाहिरिने सवारीसाधन प्रभावित भएका छन्।
सडक विभागले शनिबार साँझ सार्वजनिक गरेको सूचनाअनुसार अवरुद्ध सडक खुलाउन भित्तातर्फको भाग काटेर सडक विस्तार गर्ने काम तीव्र पारिएको छ। विभागले शनिबार राति ९ बजेदेखि एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।
त्यसपछि आइतबार बिहान ७ बजेदेखि दुईतर्फी यातायात सञ्चालन गर्न आवश्यक सडक विस्तारको काम अघि बढाइनेछ। मौसम तथा अन्य अवस्था अनुकूल रहेमा आइतबार साँझ ६ बजेसम्म मर्मत र विस्तारको काम पूरा गरी राजमार्गलाई दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य राखिएको विभागले जनाएको छ।
नदी कटानबाट सडकको ठूलो भाग प्रभावित भएकाले तत्कालै नियमित आवागमन सहज बनाउन कठिनाइ भएको हो। सडकको भित्तातर्फको भाग कटान गरेर सडक चौडा बनाउने काम भइरहेको विभागको भनाइ छ।
पृथ्वी राजमार्ग काठमाडौंलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख सडक मार्ग हो। यसमा अवरोध हुँदा यात्रु आवागमनसँगै मालसामान ढुवानीमा समेत असर पर्ने गरेको छ। दसैँ नजिकिँदै गर्दा सडक अवरुद्ध भएपछि गन्तव्यमा पुग्नुपर्ने यात्रु र खाद्यान्न बोकेका मालवाहक सवारीसाधन थप समस्यामा परेका छन्।
विभागले सडक पूर्ण रूपमा सञ्चालनमा नआएसम्म अनावश्यक यात्रा नगर्न यात्रुलाई आग्रह गरेको छ। साथै, सम्बन्धित निकायबाट जारी हुने सूचना र ट्राफिक व्यवस्थापनसम्बन्धी निर्देशन पालना गर्न पनि अनुरोध गरिएको छ।
आइतबार साँझसम्म सडक दुईतर्फी सञ्चालनमा ल्याउने लक्ष्य राखिए पनि मौसम र निर्माण कार्यको प्रगतिअनुसार वास्तविक सञ्चालन समय प्रभावित हुन सक्ने भएकाले यात्रुले यात्रा गर्नुअघि पछिल्लो अवस्था बुझ्नुपर्ने देखिन्छ।







Facebook Comments