चितवन । धादिङको गजुरी गाउँपालिका–५ गलौँदीमा पृथ्वी राजमार्ग भासिएपछि काठमाडौं जाने सडक अवरुद्ध हुँदा मालवाहक गाडीका चालक र सहचालक सडकमै रात बिताउन बाध्य भएका छन्। दसैँका लागि चामललगायत खाद्यान्न बोकेर हिँडेका ट्रक लामो समयदेखि रोकिँदा चालकहरूलाई खानपिनदेखि शौचालयसम्मको समस्याले सताएको छ।

राजमार्ग अवरुद्ध भएपछि भरतपुरको केन्द्रीय बसपार्कअगाडिको मुख्य सडकमा मालवाहक गाडीको लामो लाइन लागेको छ। शुक्रबार रातिदेखि रोकिएका चालक तथा सहचालकले सडक किनारमै चुल्हो बालेर खाना पकाउने र त्यहीँ रात बिताउने गरेका छन्।

ad

चाडपर्वका बेला खाद्यान्न समयमै गन्तव्यमा पुर्‍याउनुपर्ने दबाबमा रहेका चालकहरू सडक अवरुद्ध हुँदा थप समस्यामा परेका छन्। दसैँअघि परिवारसँग भेटघाट गर्ने योजना बनाएका उनीहरूको यात्रा अनिश्चित बनेको छ।

अलपत्र परेका चालक विशाल राजपुतका अनुसार राजमार्ग अवरुद्ध हुँदा समय र खर्च दुवै बढेको छ। सडक किनारमा खाना पकाउन नजिकैको धाराबाट पानी ल्याउनुपर्ने अवस्था रहेको उनले बताए।

‘हामीलाई दसैँ र चाडपर्व भनेको केही हुँदैन। बाटोमै अलपत्र पर्दा खानेकुराको जोहो गर्न, महँगो खर्च धान्न र सार्वजनिक शौचालय खोज्न निकै गाह्रो हुन्छ,’ राजपुतले भने।

उनले यसअघि पनि काठमाडौं जाने क्रममा कृष्णभीरलगायत स्थानमा लामो समयसम्म बाटोमै रोकिनुपरेको स्मरण गर्दै सडकको समस्या छिटो समाधान गर्न आग्रह गरे।

वैकल्पिक मार्गबाट यात्रुलाई गन्तव्यमा पठाइँदै
राजमार्ग अवरुद्ध हुँदा चितवन हुँदै काठमाडौं जाने यात्रु पनि प्रभावित भएका छन्। भरतपुर बसपार्कमा रोकिएका यात्रुलाई ट्राफिक प्रहरीले हेटौँडातर्फको वैकल्पिक मार्ग प्रयोग गरी गन्तव्यमा पुग्न सहजीकरण गरेको छ। यात्रुले पहिले तिरेको भाडा फिर्ता गराउने व्यवस्था मिलाएर वैकल्पिक मार्गबाट पठाइएको प्रहरीले जनाएको छ।

७० मिटर सडक भासियो, मर्मत तीव्र
नागढुंगा–मुग्लिन सडक योजना, पूर्वी खण्डका इन्जिनियर राजीव मानन्धरका अनुसार गलौँदीमा करिब ७० मिटर लम्बाइ र चार मिटर चौडाइमा सडक भासिएको छ। उक्त स्थान काठमाडौं जाने दिशामा गजुरीबाट करिब पाँच किलोमिटर टाढा पर्छ।

सडकको भित्तासम्म चिरा परेकाले तत्काल मर्मत गरी यातायात सञ्चालनमा ल्याउन पाँचवटा एक्साभेटर, दुईवटा लोडर र छवटा टिप्पर परिचालन गरिएको उनले जानकारी दिए। सडकको माथिल्लो भागमा गाउँ जाने शाखा सडक रहेकाले सबै भित्ता काटेर मर्मत गर्न कठिनाइ भएको उनको भनाइ छ।

शनिबार साँझसम्म राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित ब्याक कटिङको काम भइरहेको मानन्धरले बताए।

दसैँ नजिकिँदै गर्दा मुख्य राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न आपूर्ति र यात्रु आवागमन दुवै प्रभावित भएका छन्। सडक कहिले पूर्ण रूपमा सञ्चालनमा आउँछ भन्ने प्रतीक्षामा चालक, यात्रु र व्यवसायी रहेका छन्।