
पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८, कालिका ओख्लेको भीरमा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १४ जना घाइते भएका छन्।
शुक्रबार बिहान सौर्य माझठानाबाट कालिकास्थानतर्फ जाँदै गरेको कालिका बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटनामा परेको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीका अनुसार दुर्घटनामा मृत्यु हुने विद्यार्थीमा पोखरा–२८ माझठानाकी १३ वर्षीया ममता तिवारी, १४ वर्षीय अशिम कँडेल, कक्षा १० मा अध्ययनरत १४ वर्षीया रुमिका नेपाली र सुवेच्छा तिवारी रहेका छन्।
त्यस्तै, उपचारका लागि लिफ्ट मागेर उक्त बसमा यात्रा गरिरहेका पोखरा–२८ का ६५ वर्षीय बाबुराम तिवारीको पनि दुर्घटनामा मृत्यु भएको प्रहरीले जनाएको छ।
तीन घाइतेको गण्डकी मेडिकल कलेजमा उपचार
दुर्घटनामा घाइते भएका तीन विद्यार्थीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ। घाइते हुनेमा पोखरा–२८ सौर्यकी १६ वर्षीया सृष्टी तिवारी, सोही ठाउँका १६ वर्षीय शिसन थापामगर र डाँडागाउँका १६ वर्षीय सौगात तिमिल्सिना रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको अवस्था मध्यम छ र तीनै जना बोल्न सक्ने अवस्थामा छन्।
यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत माझठानाकी १५ वर्षीया अस्मी कँडेलको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिएका छन्।
दुर्घटनामा मादी गाउँपालिका–१२ पहिरेकी १४ वर्षीया स्नेहा खत्री र १५ वर्षीया स्मृति खत्रीसहित पोखरा–२८ का सोनिया तिवारी, अङ्कित पराजुली, स्नेहा तिवारी, आकृती बुढाथोकी, मेरिना तिवारी, सुप्रिया आचार्य र यमन मगर पनि घाइते भएका छन्। उनीहरूको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ।
बस चालक पोखरा महानगरपालिका–१५ का ५७ वर्षीय तुलबहादुर गुरुङको ढाड र छातीमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।
तीन सुरक्षा निकाय उद्धारमा परिचालित
दुर्घटनाको खबर प्राप्त हुनासाथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो।
इलाका प्रहरी कार्यालय शिशुवाबाट प्रहरी निरीक्षक सन्तोष पौडेलको नेतृत्वमा सात जना, जिल्ला प्रहरी कार्यालय कास्कीबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानको नेतृत्वमा ट्राफिक प्रहरीसहित १५ जना तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वा कालिका गण पोखराबाट सशस्त्र प्रहरी नायब निरीक्षक बलराम गौतमको नेतृत्वमा १० जनाको टोली घटनास्थलमा परिचालित भएको थियो। दुर्घटनाको कारणबारे भने प्रहरीले थप अनुसन्धान गरिरहेको छ।









Facebook Comments