
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा खुलातर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले पार्टीको आर्थिक तथा विकास नीति समयअनुकूल सुधार गर्न योगदान दिने उद्देश्यले उम्मेदवारी दिएको बताएका छन्।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा पोखरेलले कांग्रेसको आर्थिक तथा विकास नीतिमा सरोकारवालासँग छलफल र समन्वय गरी आवश्यक सुधार गर्न आफूले भूमिका खेल्न चाहेको बताए।
‘मैंले नेपाली कांग्रेसको आर्थिक नीति तथा विकासको नीतिमा सबै सरोकारवालासँग छलफल, समन्वय गरेर हाम्रो नीतिमा केही सुधार गर्न योगदान गर्न सक्छु भनेर खुलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको हुँ,’ उनले भने।
केन्द्रीय सदस्य निर्वाचित भए सुवर्णशमशेरको नाममा ‘सुवर्णशमशेर इकोनोमिक सिरिज’ सञ्चालन गरी कांग्रेसको आर्थिक एजेन्डालाई थप स्पष्ट र व्यवस्थित बनाउने आफ्नो लक्ष्य रहेको उनले बताए।
पोखरेलले युवालाई स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्ने, बजारले मागेको तथा युवाले चाहेको सीप हासिल गर्ने वातावरण बनाउने, विपद्बाट हुने धनजनको क्षति घटाउने र आयात प्रतिस्थापनका उपाय खोज्ने विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताए।
नेपालले वस्तु तथा सेवाको निर्यात बढाएर वैदेशिक मुद्रा आर्जन गर्नुपर्नेमा जोड दिँदै उनले देशमा उपलब्ध स्रोत र साधनको उपयोग गरेर निर्यातमुखी अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए।
‘कुनै पनि देश निर्यात नगरी धनी हुँदैन। भएका साधन र स्रोत उपयोग गरेर चाहे सेवा होस्, चाहे वस्तु होस्, त्यसको निर्यात गरेर भोलि हामीले यहाँ वैदेशिक मुद्रा आर्जन गर्न सक्नुपर्छ,’ उनले भने।
उनले नेपालको आर्थिक विकासका लागि लगानी मुख्य विषय रहेको बताए। देशमा लगानी भित्र्याएर त्यसबाट नागरिकको जीवनस्तर सुधार गर्ने, शिक्षा र स्वास्थ्यका माध्यमबाट जनशक्तिलाई दक्ष तथा उत्पादनशील बनाउने र त्यसबाट लगानीमा राम्रो प्रतिफल तथा सरकारको राजस्व बढाउने नीति आवश्यक रहेको उनको भनाइ छ।
पोखरेलले बदलिँदो प्रविधिसँगै कांग्रेसको आर्थिक विकासका साधन र माध्यम पनि परिवर्तन गर्नुपर्ने बताए। सूचना प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोगबाट नेपालमै बसेर सफ्टवेयर तथा अन्य डिजिटल सेवा निर्यात गरी वैदेशिक मुद्रा आर्जन गर्न सकिने उनको भनाइ छ।
त्यस्तै, विद्युत् निर्यातसँगै पेट्रोलियम पदार्थको आयात घटाउन विद्युतीय सवारीसाधनको प्रयोग बढाउनुपर्ने उनले बताए। आगामी दिनमा ईभी कारसँगै ईभी ट्रक र बसको प्रयोग विस्तार गर्न सकिने उनको भनाइ छ।









Facebook Comments