काठमाडौं । न्यायपरिषद्ले सर्वोच्च अदालतका न्यायाधीश नियुक्तिका लागि चार जनाको नाम सिफारिस गरेको छ। मंगलबार बसेको परिषद् बैठकले रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगीलाई सर्वोच्चको न्यायाधीश बनाउन सिफारिस गरेको हो।

प्रधानन्यायाधीश मनोज शर्माको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरे पनि सिफारिसमा परिषद्का दुई सदस्यले असहमति जनाएका छन्। वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र परिषद् सदस्य महेश कुमार नेपालले निर्णयप्रति ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

ad

न्यायाधीश प्रधानले न्यायाधीश सिफारिस गर्दा स्पष्ट आधार र कारण नखुलाइएको, वरिष्ठता मिचिएको तथा सिफारिस प्रक्रिया समावेशी हुन नसकेको भन्दै असहमति जनाएकी छन्। नेपाल बार एसोसिएसनबाट समेत प्रतिनिधित्व नगराइएको भन्दै उनले सिफारिस प्रक्रियामै आफ्नो सहभागिता र सहमति नरहेको लिखित रूपमा उल्लेख गरेको बताइएको छ।

परिषद् सदस्य नेपालले पनि सिफारिस भएका केही नामप्रति असहमति जनाएका छन्। विशेषगरी गोकर्ण डाँगीलाई सर्वोच्च अदालतको न्यायाधीशका रूपमा सिफारिस गर्ने निर्णयमा आफ्नो असहमति रहेको उल्लेख गर्दै उनले नोट अफ डिसेन्ट लेखेका हुन्।

यससँगै चार न्यायाधीशको सिफारिस प्रक्रिया परिषद्भित्रै विवाद र असहमतिका बीच अघि बढेको छ।