अमेरिकाको क्यालिफोर्निया राज्यस्थित पर्यटकीय शहर सोनोमा (City of Sonoma) को पहलमा नेपालको भोटेकोशी बाढी पीडितहरूको राहतका लागि १ करोड ७० लाख ३८ हजार ७ सय ५९ रुपैयाँ ७४ पैसा ($116,046.66) संकलन गरी पठाइएको छ। उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ को खातामा जम्मा गरिएको हो।

विश्वप्रसिद्ध वाइन क्षेत्र (नापा र सोनोमा भ्याली) अन्तर्गत पर्ने सोनोमा शहरमा विगत तीन दशकदेखि नेपाली-अमेरिकन समुदायको बसोबास रहँदै आएको छ, जसमा शेर्पा समुदायको बाहुल्यता छ।

ad

भोटेकोशीमा आएको विनाशकारी बाढीको खबर सार्वजनिक हुनासाथ सोनोमा सिटी काउन्सिलका सदस्य (डिस्ट्रिक्ट ३) जोन गर्नी (John Gurney) र स्थानीय अगुवाहरू ग्यारी एडवर्ड (Gary Edward) तथा क्रिस्टियन डुरुपी (Christian Durupee) लगायतले विगत दुई दशकदेखि सोनोमामा बसोबास गर्दै आएका सोलुखुम्बुका मंगल रानामगरसँग सम्पर्क गरी घटनाप्रति दुःख व्यक्त गरेका थिए। काउन्सिल सदस्य गर्नीसँग निकट सम्बन्ध रहेका रानामगरसँगको परामर्शपछि पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले आर्थिक संकलन (फन्ड रेजिङ) अभियान थालिएको थियो।

अभियानमा रानामगरसहित स्थानीय नेपाली समुदाय, विभिन्न वाइनरी तथा रेस्टुरेन्ट व्यवसायीहरूले उदारतापूर्वक सहयोग गरेपछि १ लाख १६ हजार ४६ अमेरिकी डलर ६६ सेन्ट संकलन भएको थियो। सोनोमा सिटीको संयोजनमा यसअघि वि.सं. २०७२ को महाभूकम्पका बेला पनि नेपाललाई उल्लेखनीय आर्थिक सहयोग पठाइएको थियो।

संकलित उक्त रकम नोभेम्बर २, २०२६ (सोमबार) का दिन नेपाल सरकारले उपलब्ध गराएको बैंक खातामा वायर ट्रान्सफरमार्फत पठाइएको हो। नेपाली मुद्रामा रूपान्तरण गर्दा उक्त रकम १ करोड ७० लाख ३८ हजार ७ सय ५९ रुपैयाँ ७४ पैसा कायम भएको छ।

अभियानका संयोजक मंगल रानामगरका अनुसार, काउन्सिल सदस्य गर्नीकै सहमतिमा कानुनी तथा प्राविधिक सहजताका लागि नेपाली संस्था ‘क्यालिफोर्निया शेर्पा एसोसिएसन’ (California Sherpa Association) को कर दर्ता नम्बर (EIN) प्रयोग गरी रकम हस्तान्तरण गरिएको हो। रकम पठाइएको जानकारी प्रधानमन्त्रीको सचिवालयमा गराइसकिएको र कोषमा रकम प्राप्त भएपछि सचिवालयले आधिकारिक जानकारी दिने बताइएको छ।

अन्ततः, संयोजक रानामगरले विपद्को घडीमा यति ठूलो रकम संकलन गर्न नेतृत्वदायी भूमिका खेल्ने सोनोमा सिटी काउन्सिल सदस्य जोन गर्नी तथा सहयोगी दाताहरूलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयमार्फत औपचारिक धन्यवाद पत्र पठाइदिएमा अमेरिकास्थित नेपाली समुदाय आभारी हुने बताएका छन्।