
काठमाडौँ । २०३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा प्रवेश गरी चार दशकभन्दा बढी समय निरन्तर लोकतान्त्रिक यात्रामा समर्पित नेता विश्व आदर्श पण्डितले नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
नेपाल विद्यार्थी सङ्घको स्कुल सचिवबाट सांगठनिक यात्रा सुरु गरी २०४२ सालको सत्याग्रह, २०४३ मा नेविसङ्घ शंकरदेव क्याम्पसको सदस्य र २०४४ मा इकाइ सभापतिको जिम्मेवारी कुशलतापूर्वक निभाएका पण्डित राजनीतिक संघर्षका प्रखर प्रतीक मानिन्छन्। २०४६ सालको ऐतिहासिक जनआन्दोलनमा युवा तथा विद्यार्थी परिचालन समितिमा रहेर सक्रिय भूमिका निर्वाह गर्दा गिरफ्तारीमा परेका उनले प्रजातन्त्र पुनर्स्थापनापछि २०४९ मा शंकरदेव क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति र २०५३ मा नेविसङ्घको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारी सफलतापूर्वक सम्हालेका थिए।
उच्च शिक्षा अध्ययनका क्रममा २०५५ सालमा विकास अर्थशास्त्र, राजनीतिक अर्थशास्त्र र ग्रामीण विकास विषय पढ्न विदेशिएका उनले प्रवासमा रहेर पनि पार्टी र देशप्रतिको निष्ठालाई निरन्तरता दिए। २०६२/६३ को दोस्रो जनआन्दोलनका क्रममा विभिन्न कूटनीतिक नियोगहरूमा पुगी नेपालमा लोकतन्त्र पुनर्स्थापनाका लागि सशक्त लबिइङ गरेका उनी गैरआवासीय नेपाली सङ्घको केन्द्रीय सदस्य हुँदै तीन कार्यकाल केन्द्रीय सल्लाहकारको भूमिकामा रहे। सो क्रममा नेपालमा आएको विनाशकारी भूकम्प, बाढी र पहिरोजस्ता महाविपत्तिका वेला आर्थिक सहयोग संकलन तथा उद्धार-राहत वितरणमा उनले नेतृत्वदायी भूमिका खेलेका थिए। साथै, नेपाल र नेपालीको हितका लागि संयुक्त लगानी कोष स्थापना गर्न अगुवाइ गरेका उनी विगत २१ वर्षदेखि नेपाली जनसम्पर्क समितिमा निरन्तर सल्लाहकार तथा जनसम्पर्क समिति विश्व संजालको संस्थापक संरक्षकका रूपमा क्रियाशील रहँदै आएका छन्।
"व्यक्तिभन्दा संस्था, सत्ताभन्दा जनता, प्रचारभन्दा विचार र पदभन्दा सेवा" भन्ने मूल मन्त्रलाई आफ्नो राजनीतिक निष्ठा मान्दै उनी महाधिवेशनका क्रममा काठमाडौँ आइपुगेका छन्। देश-विदेशमा रहेका सम्पूर्ण साथीभाइ, प्रतिनिधि तथा शुभचिन्तकहरूसँग भेटघाट र संवाद गरी कांग्रेसलाई वैचारिक तथा सांगठनिक रूपमा थप सुदृढ बनाउने संकल्पका साथ उनले केन्द्रीय सदस्य पदका लागि आफ्नो दाबी प्रस्तुत गरेका हुन्।
"नेपाली कांग्रेसलाई एकजुट बनाएर युवाहरुको चाहना बमोजिम अगाडी बढाउनको लागि मेरो उम्मेद्वारी हो," उनले भने।
नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई सफल बनाउन प्रवासमा रहेका नेपालीहरूलाई संगठित गर्दै नेतृत्व प्रदान गरेका पण्डितले १५ औँ महाधिवेशनलाई केवल शक्ति प्रदर्शनको थलो नभई नीति, नेतृत्व र संगठनबारे गहन छलफल गर्ने अवसरका रूपमा लिएको पनि उनले बताए ।









Facebook Comments