
काठमाडौं । नेपाली पत्रकारिताका वरिष्ठ पत्रकार हरि लम्सालको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि फोक्सोसम्बन्धी समस्याको उपचार गराइरहेका लम्सालको शनिबार काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारकै क्रममा निधन भएको हो।
पाँच दशकभन्दा लामो समय पत्रकारितामा सक्रिय लम्सालले आफ्नो जीवनको ठूलो हिस्सा नेपाली पत्रकारिताको विकास र अभ्यासमा बिताएका थिए । उनी नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका पूर्वसभापतिसमेत थिए । पत्रकारितामा उनको योगदानको महत्वपूर्ण पक्ष ‘राष्ट्रवाणी’ साप्ताहिकसँग जोडिएको थियो ।
लम्सालको निधनले नेपाली पत्रकारिताले अनुभवी र लामो समयदेखि सक्रिय एक पत्रकार गुमाएको पत्रकारिता क्षेत्रका व्यक्तिहरूले बताएका छन् । नेपाल पत्रकार महासंघका पूर्वसभापति तारानाथ दाहालले लम्सालको निधनप्रति दुःख व्यक्त गर्दै पाँच दशकभन्दा बढी समय पत्रकारितामा उनको निरन्तर सक्रियता स्मरण गरेका छन् ।उनका छोराहरू विकास र विशाल पनि पत्रकारितामै सक्रिय छन् ।
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको नेतृत्व सम्हालेका लम्सालले पत्रकारहरूको पेसागत हकहित र पत्रकारिताको संस्थागत विकासमा समेत भूमिका निर्वाह गरेका थिए। पाँच दशकभन्दा बढीको पत्रकारिता यात्रामा उनले विभिन्न राजनीतिक परिवर्तन र नेपाली सञ्चार क्षेत्रका उतारचढावलाई नजिकबाट अनुभव गरेका थिए ।
लम्सालको निधनसँगै नेपाली पत्रकारिताले आफ्नो लामो व्यावसायिक जीवन प्रेस र सम्पादकीय कर्ममा समर्पित गरेका एक अनुभवी पत्रकार गुमाएको छ। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन् ।
लम्सालको निधनप्रति पत्रकारिता क्षेत्रका विभिन्न व्यक्तिले शोक व्यक्त गर्दै परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।









Facebook Comments