नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १२ जना घाइते भएका छन्।

नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्नेको एसमोडमा शनिबार बिहान दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)ले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए।

ad

दुर्घटनामा मृत्यु हुने सबैको सनाखत भइसकेको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बाँकेको खजुरा गाउँपालिका–२ का ३६ वर्षीय बस चालक सुरेश बिसी, कोहलपुर नगरपालिका–३ का ३२ वर्षीय दीपेन्द्र केसी, कोहलपुर नगरपालिका–१० का ५५ वर्षीय एकेन्द्रराज रेग्मी, नेपालगञ्ज उपमहानगरपालिका–७ का २२ वर्षीय कृष कनौजिया, जाजरकोटको भेरीगंगा नगरपालिका–३ का ५० वर्षीय निर्जुङ गुरुङ र बाजुराको स्वामीकार्तिक गाउँपालिकाका ६५ वर्षीय नरेन्द्रराज गिरी छन्।

दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी उपचारका लागि मध्यबिन्दु प्रादेशिक अस्पताल, डण्डा लगिएको थियो। त्यहाँ प्रारम्भिक उपचारपछि थप उपचार आवश्यक देखिएका ८ जनालाई चितवनको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक अनिल पण्डितले जानकारी दिए।

बाँकी चार घाइतेलाई भने मध्यबिन्दु प्रादेशिक अस्पतालमै भर्ना गरी उपचार भइरहेको छ। अस्पतालले जारी गरेको विज्ञप्तिअनुसार उनीहरूलाई चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा राखेर उपचार भइरहेको छ।

घाइतेमध्ये केहीलाई थप विशेषज्ञ उपचार आवश्यक देखिएपछि चितवन पठाइएको अस्पतालले जनाएको छ। दुर्घटनापछि प्रहरीले घटनास्थलमा उद्धार तथा व्यवस्थापनको काम गरेको थियो।

दाउन्ने क्षेत्रमा यसअघि पनि सडक दुर्घटना हुने गरेका छन्। घुमाउरो तथा भिरालो सडकका कारण उक्त खण्डलाई राजमार्गको संवेदनशील क्षेत्रका रूपमा लिइन्छ। पछिल्लो दुर्घटनाको कारणबारे भने प्रहरीले तत्काल विस्तृत विवरण सार्वजनिक गरेको छैन।

एकैपटक ठूलो मानवीय क्षति हुने गरी भएको दुर्घटनापछि राजमार्गमा यात्रा गर्ने यात्रु तथा चालकको सुरक्षाबारे फेरि प्रश्न उठेको छ। दुर्घटनाको कारण र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।