
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथिको अनुसन्धानका लागि प्रहरीले थप एक दिन हिरासतमा राख्न पाउने भएको छ। काठमाडौं जिल्ला अदालतले शुक्रबार प्रसाईंको हिरासत अवधि एक दिन बढाउन अनुमति दिएको हो।
न्यायाधीश अणेश्वरी घिमिरेको इजलासले सोमबारसम्म अनुसन्धान प्रतिवेदन अदालतमा पेस गर्नुपर्ने सर्तसहित हिरासत म्याद थप गरेको हो। यसअघि अदालतबाट दुईपटक गरी चार दिनको म्याद पाइसकेका प्रसाईंलाई पछिल्लो आदेशपछि थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति मिलेको छ।
प्रसाईंमाथि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रचना खतिवडाले दिएको उजुरीका आधारमा साइबर ब्युरोले उनलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार प्रसाईंले सांसद खतिवडामाथि उनको छोराको शवसँग सांसद पद साटेको आरोप लगाउँदै अपमानजनक अभिव्यक्ति दिएका थिए। सोही अभिव्यक्तिलाई लिएर परेको उजुरीपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको जनाएको छ।
प्रसाईंलाई असार १२ गते साइबर ब्युरोले पक्राउ गरेको थियो। अदालतको पछिल्लो आदेशअनुसार प्रहरीले सोमबारसम्म अनुसन्धान पूरा गरी प्रतिवेदन पेस गर्नुपर्नेछ।









Facebook Comments