
नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति एवं महासमिति सदस्य कृष्ण गिरीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएका छन्।
झापाको अर्जुनधाराबाट २०४७ सालमै बुबाको प्रेरणाबाट कांग्रेसको राजनीतिमा जोडिएका उनले त्रिचन्द्र क्याम्पस, नेविसंघ झापा र नेविसंघ केन्द्रीय समितिका विभिन्न विभागमा रहेर काम गरिसकेका छन्।
विशेषगरी, नेपाली कांग्रेसका सभापति गगनकुमार थापा त्रिचन्द्र क्याम्पसको स्ववियु सभापति हुँदा उनी स्ववियु सदस्यका रूपमा थापासँगै विद्यार्थी राजनीतिमा सक्रिय थिए। अहिले थापा पार्टी सभापतिको भूमिकामा रहँदा गिरीले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने संयोग जुरेको छ।
करिब दुई दशकदेखि अष्ट्रेलियामा बस्दै आएका पेशाले आईटी इन्जिनियर गिरी नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाका पूर्व सभापति, संरक्षक तथा १४औँ महाधिवेशनपछिको जनसम्पर्क समिति समन्वय विभागका सदस्य हुन्।
पार्टीको सूचना प्रविधि क्षेत्र, निर्वाचन प्रचारप्रसार तथा भूकम्प, बाढी र कोभिड-१९ जस्ता प्राकृतिक विपत्तिका बेला विदेशबाट आर्थिक तथा सामाजिक सहयोग जुटाउन उनले महत्त्वपूर्ण समन्वयकारी भूमिका खेलेका छन्।
साथै, गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलिया तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का विभिन्न जिम्मेवारी सम्हालिसकेका उनी पछिल्लो निर्वाचनमा सर्वसम्मत नेतृत्व चयनका लागि उपाध्यक्षको उम्मेदवारी फिर्ता लिएर त्याग देखाउने सरल र जिम्मेवार व्यक्तित्वका रूपमा परिचित छन्।
नेपाल र अष्ट्रेलियाबीचको सम्बन्ध विस्तार, परराष्ट्रमन्त्रीस्तरीय बैठक व्यवस्थापन तथा पार्टी र शीर्ष नेताहरूलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न निरन्तर क्रियाशील गिरीले प्रवासमा प्राप्त अवसर र अनुभवलाई पार्टीको हितमा लगाउने उद्देश्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेका हुन्।









Facebook Comments