काठमाडौं । पटक-पटक कानुनी कारबाही र जेल सजाय भोगिसकेका वीरगञ्जका विवादास्पद व्यापारी निरञ्जनकुमार अग्रवाल पुनः सवा करोडभन्दा बढी रकम ठगीको षड्यन्त्रमा जोडिएका छन्। वीरगञ्जस्थित ‘स्वीट मार्ट फुड प्रा.लि.’का सञ्चालक शङ्करलाल मित्तलको फर्जी चेक खडा गरी रु. १ करोड २२ लाख ६६ हजार १२० ठगी तथा आपराधिक लाभ लिन खोजेको आरोपमा अग्रवाल र उद्योगका पूर्वलेखापाल विनोदकुमार पटेलविरुद्ध जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको छ।

घटनाको पृष्ठभूमिअनुसार, महिला मजदुरमाथि दुर्व्यवहार गरेको गुनासो आएपछि गत साउन २७ गते लेखापाल पटेललाई सञ्चालक मित्तलले जागिरबाट निष्कासन गरेका थिए। सोही झोंकमा बदला लिने धम्की दिँदै निस्किएका पटेलले मजदुरको ज्याला र प्रशासनिक खर्चका लागि विश्वासका आधारमा बुझाइएको हस्ताक्षरयुक्त खाली चेक फिर्ता नगरी विवादास्पद छवि भएका अग्रवाललाई सुम्पेका थिए। पछि सोही चेकमा सवा करोडभन्दा बढी रकम भरेर साट्न खोज्दा गत असोज ९ गते प्रभु बैंकबाट चेक अनादर (बाउन्स) भएको सन्देश आएपछि मात्र सञ्चालक मित्तलले यो गम्भीर आपराधिक षड्यन्त्रबारे थाहा पाएका हुन्।

ad

अग्रवाल र मित्तलबीचको रिसइबी पुरानो हो। यसअघि पनि अग्रवालले मेसिनरी सामान खरिदको विवाद झिकी ६० लाख रुपैयाँ दाबी गर्दै अदालतमा मुद्दा हालेका थिए, जसलाई सर्वोच्च अदालतका न्यायाधीशद्वय महेश शर्मा पौडेल र मेघराज पोखरेलको संयुक्त इजलासले खारेज गर्दै मित्तलको पक्षमा फैसला सुनाइसकेको छ। सर्वोच्चबाट पराजित भएपछि अग्रवालले त्यही पुरानो रिस साध्न उद्योगबाट धपाइएका पूर्वलेखापाल पटेललाई प्रयोग गरी यो प्रपञ्च रचेको देखिन्छ। वर्षौंदेखि बोलचाल, भेटघाट वा फोन सम्पर्कसमेत नभएको व्यक्तिलाई एकाएक सवा करोडको चेक दिनुपर्ने कुनै औचित्य नै नरहेको भन्दै मित्तलले प्रहरीसमक्ष निष्पक्ष अनुसन्धानको अपिल गरेका छन्।

ठगी र आपराधिक विश्वासघातको यो घटनाले वीरगञ्जको व्यावसायिक क्षेत्रमा ठूलो हलचल ल्याएको छ। प्रहरीले अब अग्रवाल र पटेललाई नियन्त्रणमा लिएर कुन ढङ्गले कानुनी कारबाही अघि बढाउँछ भन्ने चासोको विषय बनेको छ। साथै, पूर्वलेखापाल पटेलको कब्जामा रहेका अन्य हस्ताक्षरयुक्त खाली चेकहरूसमेत तुरुन्त बरामद गरी दोषीहरूमाथि कडा कारबाही गर्न पीडित पक्षले माग गरेको छ।