काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नियन्त्रणमा लिएको घटनाको कानुनी आधार, प्रक्रिया र मानव अधिकारसँग सम्बन्धित विषयमा सरकारसँग स्पष्ट जवाफ मागेको छ ।

कांग्रेस सांसद निनु कुमारी कर्णले आज प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै उक्त जवाफ माग गरेकी हुन् ।  

ad

असोज १० गते मध्यरातमा सुरक्षा चुनौती भन्दै पूर्वप्रधानन्यायाधीश जबरालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति कर्णले सदनको ध्यानाकर्षण गराउँदै यो विषय कुनै व्यक्ति विशेषको पक्ष वा विपक्षमा नभई संविधान, विधिको शासन, मौलिक अधिकार र कानूनी मर्यादासँग जोडिएको गम्भीर विषय भएको बताइन् ।

‘सुरक्षा चुनौती भए राज्यले सुरक्षा दिनुपर्छ, तर नागरिकको स्वतन्त्रता नियन्त्रण गरिन्छ भने त्यसको स्पष्ट कानूनी आधार र प्रक्रिया सार्वजनिक हुनुपर्छ,’ कर्णले भनिन् ।

जबरालाई प्रहरी नियन्त्रणमा राखिएका बेला राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधिलाई भेट्न नदिइएको विषयमा समेत उनले आपत्ति जनाइन्। यस्तो कार्यले लोकतान्त्रिक मूल्य र मानव अधिकारको अवस्थामाथि प्रश्न उठाउने उनको भनाइ थियो। नेपाल बार एशोसिएसनले समेत घटनाप्रति ध्यानाकर्षण गराइसकेको उनले स्मरण गराइन्।