मनाङ । पहिरोका कारण थुनिएको मर्स्याङ्दी नदीको बहाव अझै पूर्ण रूपमा खुलाउन सकिएको छैन। चामे नजिकै आइतबार गएको ठूलो पहिरोले नदीको केही भाग थुनेपछि स्थानीय प्रशासनले बहाव पुरानै धारमा फर्काउने प्रयास गरिरहेको छ।

मनाङका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार दिनभर प्रयास गर्दा पनि नदीको बहाव सहज रूपमा खुलाउन सकिएको छैन। पहिरोले नदीको करिब आधा भाग थुनेको र अर्को भागबाट पानी बगिरहेको उनले बताए।

ad

नदीमा खसेका ठूला ढुंगा हटाउन कठिन भएपछि विस्फोटक पदार्थ प्रयोग गर्ने तयारी भइरहेको छ। ठूला चट्टान फुटाएर नदीको बहावलाई पुरानै अवस्थामा फर्काउने उद्देश्यले विस्फोटक सामग्री ल्याउने प्रयास भइरहेको पौडेलले जानकारी दिए।

चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेका अनुसार पहिरोले थुनेको क्षेत्र करिब ५ सय मिटर लामो र २ सय मिटर चौडा छ। नदी थुनिएर बनेको जलाशयका कारण चारवटा होटलसमेत डुबानमा परेको उनले बताए।

नदीको पानी एकातर्फबाट बगिरहेको भए पनि थप पहिरो खस्ने जोखिम कायमै रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। जोखिममा परेका स्थानीय भने सोमबार बिहान घर फर्किएका छन्।

हिमलुङमा चार शव भेटिए, १२ अझै सम्पर्कविहीन
यसैबीच, नार्पाभूमि गाउँपालिकास्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ। आइतबार दुई शव भेटिएकामा सोमबार थप दुई जनाको शव फेला परेको स्थानीय प्रशासनले जनाएको छ।

हिमपहिरोमा परी अझै १२ जना सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि उद्धार टोली परिचालन गरिएको छ।

नार्पाभूमि–५, फू क्षेत्रमा पर्ने ७ हजार १ सय २६ मिटर अग्लो हिमलुङ हिमाल आरोहणको तयारीका लागि पुगेका नेपाली गाइड तथा सहयोगीहरू हिमपहिरोमा परेका हुन्। आइतबार राति करिब साढे १ बजे हिमपहिरो उनीहरू बसेको क्याम्पमा खसेको थियो।

विदेशी आरोहीका लागि पूर्वतयारी गर्न दुई समूहमा गरी २७ जना नेपाली सहयोगी हिमलुङ पुगेका थिए। तीमध्ये एउटा समूहमा २१ र अर्कोमा ६ जना थिए।

बाक्लो हिउँ जमेकाले बेपत्ताको खोजी चुनौतीपूर्ण बनेको सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले बताए। उद्धार तथा खोजीमा खटिएको टोली हिमपहिरो गएको क्षेत्रमा रहेर काम गरिरहेको छ।