काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछका लागि बोलाएको छ।

आयोगले खड्कालाई मंगलबार उपस्थित हुन पत्राचार गरेको हो। आयोगका सूचना अधिकारी पवनकुमार भट्टका अनुसार एसएसपी खड्कासहित घटनासँग सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिलाई पनि सोधपुछका लागि बोलाइएको छ।

ad

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पक्राउ गरी टेकुस्थित अपराध अनुसन्धान कार्यालयमा राखिएको समयमा आयोगको टोली अनुगमनका लागि त्यहाँ पुगेको थियो। तर, आयोगको टोलीलाई जबरासँग भेट्न नदिइएपछि आयोगले आपत्ति जनाएको थियो।

आयोगले संवैधानिक तथा कानुनी अधिकारअनुसार अनुगमनमा गएको टोलीलाई भेटघाट गर्न रोकिएको भन्दै विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गरेको थियो। अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग समन्वय गर्दा समेत टोलीलाई कार्यालयभित्र प्रवेश तथा अनुगमन गर्न नदिइनुको स्पष्ट कारण नदिइएको आयोगको भनाइ छ।

राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ ले आयोगलाई आवश्यकताअनुसार सार्वजनिक तथा निजी संस्था र अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्न सक्ने अधिकार दिएको छ।

मानव अधिकार संरक्षणका लागि आवश्यक देखिएमा सम्बन्धित निकाय, संस्था वा स्थानमा सुधार गर्न सुझाव तथा निर्देशन दिन सक्ने अधिकारसमेत आयोगलाई रहेको छ। यही कानुनी व्यवस्थाअनुसार घटनाबारे थप जानकारी लिन सम्बन्धित अधिकारीहरूलाई बोलाइएको आयोगले जनाएको छ।