
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङको सचिवालयका सदस्यहरूसँग आफ्नो निकट सम्बन्ध रहेको दाबी गर्दै हिँडेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका–४ घर भई काठमाडौँमा बस्दै आएका ३७ वर्षीय आशिष मल्ल भनिने धर्मराज मल्ल रहेका छन्।
मल्लले सामाजिक सञ्जालमा आफू गृहमन्त्रीका व्यक्तिहरूसँग निकट सम्पर्कमा रहेको दाबी गर्दै ‘जेलमा नाइके हामी तोक्छौँ’ लगायतका कुरा गरेको अडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दानबहादुर थापाका अनुसार मल्ललाई कागेश्वरी मनोहरा नगरपालिका–५ बाट पक्राउ गरिएको हो।
उक्त अडियोका विषयमा सोधपुछ गर्ने क्रममा प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा उनीविरुद्ध अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सोही कसुरमा प्रहरीले अदालतबाट दुई दिनको म्यादसमेत लिएको एसपी थापाले बताए।
यस्तै, मल्लविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेमा बैंकिङ कसुरसम्बन्धी ६ वटा जाहेरी दर्ता भएको प्रहरीको सीआरएस विवरणबाट देखिएको छ। ती मुद्दामा उनी फरार रहेको प्रहरीले जनाएको छ।









Facebook Comments