
काठमाडौँ । केही दिनदेखि लगातार भइरहेको वर्षापछि आइतबार दिउँसो काठमाडौं उपत्यकाको मौसम खुलेको छ। बिहानसम्म झरी परे पनि मध्याह्नपछि बादल हट्दै घाम लागेपछि काठमाडौंको आकाश नीलो देखिएको छ।
बुधबारदेखि सक्रिय बनेको वर्षाको क्रम शनिबारपछि कमजोर हुने अनुमान गरिए पनि शनिबार रातभर र आइतबार बिहानसम्म विभिन्न क्षेत्रमा पानी परेको थियो। त्यसपछि भने वर्षाको गतिविधि क्रमशः घट्दै गएको मौसमविद्हरूले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्ला दिनमा नेपालमा भएको वर्षामा एउटै मौसमी प्रणालीको मात्र प्रभाव थिएन। अन्दमान सागरमा विकसित न्यूनचापीय प्रणाली बंगालको खाडी हुँदै गहिरो न्यूनचापीय क्षेत्रमा परिणत भएको थियो। त्यसपछि भारततर्फ सर्दै जमिनमा न्यूनचापीय क्षेत्रका रूपमा प्रवेश गरेपछि त्यसको प्रभाव नेपालसम्म परेको हो।
उक्त प्रणालीका कारण बुधबारदेखि देशभर वर्षा बढेको थियो। प्रणाली कमजोर हुँदै गएपछि शनिबारदेखि वर्षा कम हुने अपेक्षा गरिएको थियो। तर भारतको नेपालनजिकैको भूभागमा न्यूनचापीय क्षेत्रको प्रभाव कायम रहँदा शनिबार रातिसम्म वर्षा भएको मौसमविद् सञ्जीव अधिकारीले बताए।
त्यससँगै बंगालको खाडी र अरब सागरबाट जलवाष्प बोकेको हावा नेपाल प्रवेश गरेकाले पनि वर्षा भएको थियो। विशेषगरी चितवन, बारा, पर्साको पश्चिमी भाग, रूपन्देही, कपिलवस्तुको पूर्वी भाग तथा गण्डकी प्रदेशका नवलपरासी पूर्व–पश्चिम, तनहुँ र कास्कीका तल्लो क्षेत्रमा यसको प्रभाव बढी देखिएको थियो।
मध्याह्नपछि अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव कमजोर बनेपछि काठमाडौंसहित मध्य र पूर्वी नेपालका धेरै क्षेत्रमा वर्षा रोकिएर मौसम खुलेको हो।
यद्यपि, देशभरबाट वर्षा पूर्ण रूपमा हटिसकेको छैन। पछिल्लो तीन घण्टाको विवरणअनुसार कोशीदेखि लुम्बिनीसम्म छिटपुट वर्षा भए पनि गण्डकीसम्मका क्षेत्रमा उल्लेख्य वर्षा भएको छैन। कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्रमा भने मध्यमसम्मको वर्षा भइरहेको छ।
बर्दियाको अरुणखोलामा पछिल्लो तीन घण्टामा ४१ मिलिमिटर, बर्गदहमा ३७ मिलिमिटर र रम्भापुरमा २६.४ मिलिमिटर वर्षा मापन भएको छ।
मौसमविद्का अनुसार नेपालनजिक रहेको न्यूनचापीय प्रणालीको प्रभाव कमजोर भए पनि लुम्बिनी र कर्णालीका केही क्षेत्रमा त्यसको असर बाँकी छ। पश्चिमी भूभागमा अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको प्रभावसमेत रहेकाले त्यहाँ वर्षा भइरहेको हो।
मौसमविद् बिनु महर्जनका अनुसार अब वर्षाको गतिविधि क्रमशः घट्दै जानेछ। तर मनसुन अझै सक्रिय रहेकाले देशभर एकैपटक पूर्ण रूपमा मौसम खुल्ने अवस्था भने नरहेको उनको भनाइ छ।
प्रणाली कमजोर हुँदै गएसँगै पछिल्ला दिनमा जस्तो लगातार र व्यापक वर्षाको अवस्था हट्दै जानेछ। त्यसपछि वर्षा स्थानीय र छिटपुट प्रकृतिको हुने तथा भारी वर्षाको सम्भावना कम रहने मौसमविद्हरूले बताएका छन्।
विशेषगरी पश्चिमी नेपालका केही क्षेत्रमा केही समय बादल र वर्षा कायमै रहन सक्ने भए पनि देशका धेरै भूभागमा एकैसाथ निरन्तर पानी पर्ने अवस्था कमजोर हुँदै जाने महर्जनले बताइन्। उनका अनुसार सोमबारदेखि पश्चिमी क्षेत्रमा समेत वर्षाको मात्रा घट्दै मौसममा सुधार आउने सम्भावना छ।
मनसुन अझै कायम रहेकाले वर्षा हुँदै नहुने अवस्था भने नरहेको मौसमविद्हरूको भनाइ छ। तर आगामी दिनमा हुने वर्षा पछिल्ला पाँच दिनमा देखिएको जस्तो निरन्तर र व्यापक नहुने उनीहरूको आकलन छ।









Facebook Comments