
धादिङ । निरन्तरको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत धादिङका विभिन्न स्थानमा खसेका पहिरो पन्छाउने काम जारी छ। अधिकांश स्थानमा पहिरो हटाएपछि एकतर्फी रूपमा सवारी सञ्चालनमा ल्याइएको छ भने केही ठाउँमा सडक पूर्ण रूपमा खुलाउने प्रयास भइरहेको छ।
बेनीघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा माथिबाट लेदोसहितको पहिरो खसेपछि केही समय सडक अवरुद्ध भएको थियो। पहिरो हटाएपछि अहिले एकतर्फी रूपमा सवारीसाधन सञ्चालनमा ल्याइएको छ। सडकको भित्ता थप सुरक्षित बनाउन खन्ने तथा ट्र्याक सुधार गर्ने कामसमेत भइरहेको छ।
धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे गौतमले कृष्णभीरको सडक अवस्थाबारे स्थलगत निरीक्षण गरिरहेकी छन्। उनका अनुसार थप वर्षा नभए र अवस्था सामान्य रहेमा सडकलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने तयारी छ।
गजुरी गाउँपालिका–२ को चालिसेमा खसेको पहिरो हटाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको छ। बाँकी पहिरो हटाएर दुवैतर्फी सवारी सञ्चालन गराउने प्रयास भइरहेको छ। सोही वडाको परेवाभीरमा पनि पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालनमा ल्याइएको नागढुंगा–नौबिसे–मुग्लिन सडक आयोजनाको पूर्वी खण्डले जनाएको छ।
आयोजनाका पूर्वी खण्ड प्रमुख गुरु प्रसाद अधिकारीका अनुसार पहिरोका कारण रोकिएका सवारीसाधनलाई सावधानीपूर्वक क्रमशः पार गराइँदैछ।
गजुरी–५ को बाङ्गेमोडमा भने सडक दुवैतर्फी रूपमा सञ्चालनमा रहेको छ। शीतलबजार क्षेत्रमा रुख र लेदोसहितको पहिरो खस्दा सडकको छेउसमेत भासिएको आयोजनाले जनाएको छ। बेनीघाट बजारनजिक गोमती खोलामा लेदोसहितको पहिरो खसे पनि उक्त स्थानमा अहिले दुवैतर्फी यातायात सञ्चालनमा आइसकेको छ।
त्यस्तै, ज्यामिरेघाट–चौकीभीर क्षेत्रमा ढुंगा र लेदोसहित पहिरो खसेको थियो। हुग्दी खोलादेखि जवाङखोलासम्मका विभिन्न स्थानमा साना पहिरोसमेत खसेका थिए। ती स्थानबाट पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको आयोजनाले जनाएको छ।
यसैबीच, वर्षाका कारण अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्ड पनि पहिरो पन्छाएपछि सञ्चालनमा आएको छ। नाम्सीखोला पुलमा थुप्रिएको लेदोसहितको पहिरो हटाएपछि रोकिएका सवारीसाधन गन्तव्यतर्फ पठाउन थालिएको हो।
सडक डिभिजन कार्यालय चितवनका अनुसार आइतबार बिहान ७ः५५ बजे पहिरो खसेर सडक अवरुद्ध भएको थियो। कार्यालयका सूचना अधिकारी कृष्ण आचार्यका अनुसार दिउँसो १२ः१५ बजे पहिरो हटाएर यातायात सुचारु गरिएको हो।
यता, मलेखु–मुग्लिन सडकखण्डमा भने वर्षाका कारण ११ भन्दा बढी स्थानमा पहिरो खसेको छ। शीतलबजार, कृष्णभीर, ज्यामिरेघाट र फिस्लिङलगायत क्षेत्रमा रुख, लेदो तथा ठूला ढुंगा खसेर यातायात प्रभावित भएको छ।
कतिपय स्थानमा सडक चर्किनुका साथै सडकको आधा भाग भत्किएको आयोजनाले जनाएको छ। पहिरो पन्छाउन विभिन्न स्थानमा निर्माण व्यवसायीका उपकरण परिचालन गरिएको छ। ठूलो पहिरो नखसेमा सडकलाई क्रमशः सञ्चालनमा ल्याउने गरी काम भइरहेको आयोजनाले जनाएको छ।









Facebook Comments