पोखरा । तीन दिनसम्म परेको अविरल वर्षापछि गण्डकी प्रदेशका विभिन्न जिल्लामा बाढी, पहिरो र डुबानका घटना बढ्दा ११ जनाले ज्यान गुमाएका छन् । ९ देखि ११ असोजसम्मको प्रारम्भिक विवरणअनुसार विपद्मा परी चार जना घाइते भएका छन् भने चार जना अझै बेपत्ता छन् ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार वर्षाजन्य विपद्का कारण ४ सय १९ घरका १ हजार ४ सय ५१ जना प्रभावित भएर विस्थापित भएका छन् । बाढी, पहिरो र डुबानले १ सय ७९ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने २६ घरमा आंशिक क्षति पुगेको छ । थप २ सय ७० घर जोखिममा रहेको प्रहरीको विवरणमा उल्लेख छ ।

ad

गण्डकी प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक कृष्णप्रसाद कोइरालाका अनुसार विपद्बाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम अझै जारी छ । प्रारम्भिक तथ्यांक भएकाले क्षतिको मात्रा थप बढ्न सक्ने जनाइएको छ ।

वर्षाजन्य विपद्को असर पशुपालन क्षेत्रमा समेत परेको छ । १२ वटा गोठ पूर्ण रूपमा र एउटा गोठमा आंशिक क्षति पुगेको छ । घटनामा कम्तीमा ४४ पशु मरेका छन् ।

त्यस्तै, बाढी तथा पहिरोका कारण ६ वटा पुल पूर्ण रूपमा र दुईवटा पुल आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । सरकारी संरचनातर्फ तीनवटा कार्यालय पूर्ण र तीनवटा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् भने थप नौ सरकारी कार्यालय जोखिममा परेका छन् ।

सवारीसाधनमा समेत क्षति पुगेको छ । प्रारम्भिक विवरणअनुसार तीन दुईपांग्रे र १५ चारपांग्रे सवारीसाधन क्षतिग्रस्त भएका छन् । बाढी, पहिरो र डुबानका कारण सडक तथा यातायात संरचनामा क्षति पुगेपछि गण्डकीका केही स्थानमा आवागमनसमेत प्रभावित भएको प्रहरीले जनाएको छ।

हिमलुङमा हिमपहिरो : दुईजनाको शव फेला

 मनाङको हिमलुङ हिमाल क्षेत्रमा आइतबार बिहान गएको हिमपहिरोमा परेका दुई जनाको शव फेला परेको छ । उनीहरूको पहिचान भने खुल्न सकेको छैन ।

नेपाल राष्ट्रिय पर्वतारोहण तथा पर्वतारोहण गाइड संघ (एनएनएमजीए) का अध्यक्ष तुलसिंह गुरुङका अनुसार हिमलुङ क्षेत्रमा उद्धारका काठमाडौंबाट आजै पुगेको टोलीले दुई जनाको शव फेला पारेको हो ।

शव फेला परेको जानकारी अन्तर्राष्ट्रिय पर्वतारोहण गाइड तथा इम्याजिन नेपालका सञ्चालक मिङ्माजी शेर्पाले गराएको गुरुङले बताए । ‘दुई जनाको शव फेला परेको जानकारी आएको छ । तर शव कसको हो भन्ने पहिचान भएको छैन,’ गुरुङले भने । उनका अनुसार काठमाडौंमा रहेका गाइडहरूलाई दुईवटा हेलिकप्टरमार्फत हिमलुङ क्षेत्रमा लगिएको छ ।

हिमलुङ हिमाल क्षेत्रमा हिमपहिरो गएपछि उद्धारका लागि एनएनएमजीएले ८ जनाको खोज तथा उद्धार टोली परिचालन गरेको थियो । उक्त घटनामा १४ जना सम्पर्कविहीन भएको जनाइएको छ ।