
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको गिरफ्तारीप्रति आपत्ति जनाउँदै कानुनी शासन र संवैधानिक सर्वोच्चताको खिल्ली उडाउने गरी सरकारी संयन्त्रबाट भइरहेका क्रियाकलापप्रति चिन्ता व्यक्त गरेको छ ।
कांग्रेसका प्रवक्ता देवराज चालिसेले आज एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीको विषयलाई लिएर सरकारी अधिकारीहरूबाटै सार्वजनिक भइरहेका परस्पर विरोधी भनाइहरूलाई कांग्रेसले गम्भीरतापूर्वक लिएको उल्लेख गरेका छन् ।
‘सरकारी अधिकारीहरूबाटै आइरहेका विरोधाभासपूर्ण अभिव्यक्तिहरूले यो गिरफ्तारीको कानुनी आधार र औचित्यमाथि नै प्रश्न उठाएका छन्। यदि गिरफ्तारी कानुनसम्मत र आवश्यक थियो भने सरकारले त्यसको स्पष्ट कानुनी आधार र औचित्य सार्वजनिक गर्न सक्नु पर्दछ’, विज्ञप्तिमा भनिएको छ । कुनै विशेष सुरक्षा चुनौतीबीच अनुसन्धानको आवश्यकता वा अन्य असाधारण परिस्थितिका कारण यस्तो कदम चालिएको हो भने त्यसको विश्वसनीय आधार राज्यले स्पष्ट गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
कांग्रेसले अपराध अनुसन्धान र कानुन कार्यान्वयनको प्रक्रियामा आफू बाधक नभएको स्पष्ट पार्दै कानुन कार्यान्वयनको आडमा देखाइएको अस्पष्ट र अन्योलपूर्ण प्रक्रियालाई स्वीकार गर्न नसकिने विज्ञप्तिमा भनिएको छ– ‘कानुनको शासन भनेको राज्यले कानुन प्रयोग गर्नु मात्र होइन, राज्यका सबै निकायहरू स्वयं संविधान र कानुनको सीमाभित्र रहनु हो।
संवैधानिक सर्वोच्चता र कानुनी शासनमा अडिग रहने प्रतिबद्धता व्यक्त गर्दै कांग्रेसले पूर्वप्रधानन्यायाधीश राणाको गिरफ्तारीलाई लिएर देखिएको अन्योल तत्काल अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएको छ। ‘कसैले कानूनको उलंघन गरेको छ भने निष्पक्ष अनुसन्धान होस, प्रमाणका आधारमा कारबाही होस् र दोषी ठहरिए कानून बमोजिम सजाय होस् । तर गिरफ्तारी स्वयं दोषको प्रमाण हुँदैन’, विज्ञप्तिमा उल्लेख छ ।
पूर्वप्रधानन्यायाधीश राणालाई प्रहरीले आज बिहान ३ बजे पक्राउ गरेको थियो ।







Facebook Comments