काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा भएको स्पष्ट पार्दै आ–आफ्नो क्षेत्रको अवस्था बुझ्दै अप्ठेरोमा परेका नागरिकलाई आवश्यक सहयोग र समन्वय गर्न सक्रिय रुपमा जुट्न नेता तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन् ।  

सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति थापाले देशभर लगातारको वर्षाका कारण जनजीवन प्रभावित भएको उल्लेख गर्दै मौसम विभाग तथा सम्बन्धित निकायहरूले जारी गरेका सूचना र स्थानीय अवस्थालाई ध्यानमा राख्दै विभिन्न जिल्लामा अधिवेशनका निर्वाचन कार्यक्रमका लागि नयाँ मिति तय गर्न यसअघि नै पत्राचार गरिएको जनाएका छन् ।

ad

सभापति थापाले लेखेका छन्, ‘अहिलेको अवस्थामा सबैभन्दा पहिलो प्राथमिकता सुरक्षा हो। भौतिक र साङ्गठनिक प्रक्रियाभन्दा नागरिकको जीवनको सुरक्षा ठुलो कुरा हो, त्यसैले जोखिम रहेका स्थानमा निर्वाचनका गतिविधिहरू रोकेर नागरिकको सुरक्षामा केन्द्रित हुनुपर्छ।’

सभापति थापाले कांग्रेसका सम्पूर्ण तहका पदाधिकारी, महाधिवेशन प्रतिनिधि र क्रियाशील सदस्यहरूलाई विपद्मा परेका नागरिकको सेवाका लागि खटिन आह्वान गरेका छन् ।

पार्टीको तर्फबाट सभापति थापाले स्थानीय तहमा रहेका पार्टीका संरचनाहरूलाई सरकारी निकाय, सुरक्षा निकाय र स्थानीय स्वयंसेवकहरूसँग हातेमालो गर्दै विपद् व्यवस्थापनमा लाग्न समेत आह्वान गरेका छन् ।