काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रले न्यायाधीशलाई मेलमिलापकर्ताको जिम्मेवारी दिने प्रस्तावप्रति असहमति जनाएका छन्। यस्तो व्यवस्था संविधानको मर्म र न्यायिक स्वतन्त्रताको सिद्धान्तविपरीत हुने उनको भनाइ छ।

बिहीबार कानुन, न्याय तथा मानव अधिकार समितिमा मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८३ माथि भएको छलफलमा अध्यक्ष मिश्रले जिल्ला न्यायाधीशलाई मेलमिलाप प्रक्रियामा सहभागी गराउने प्रस्ताव स्वीकार्य नहुने स्पष्ट पारे।

ad

उनले न्यायाधीशको मुख्य जिम्मेवारी न्याय सम्पादन गर्नु भएकाले न्यायिक कामभन्दा बाहिरका गतिविधिमा संलग्न गराउन नहुने धारणा राखे। नेपाल बार एशोसिएशनले न्यायाधीशलाई मेलमिलापकर्ताको भूमिका दिने व्यवस्थालाई अस्वीकार गर्ने पनि उनले बताए।

मिश्रले न्यायाधीशको भूमिकालाई खेलको रेफ्रीसँग तुलना गर्दै विवादका पक्षमध्ये एक बनेर सक्रिय भूमिका निर्वाह गर्नुको सट्टा दुवै पक्षका तथ्य, प्रमाण र कानुनका आधारमा निष्पक्ष निर्णय दिनुपर्ने बताए।

‘न्यायाधीश भनेको प्लेयर होइन, रेफ्री हो। रेफ्रीलाई प्लेयर बनाउने काम गर्नु हुँदैन,’ उनले समितिको छलफलमा भने।

उनका अनुसार फौजदारी मुद्दामा तथ्य पत्ता लगाउने जिम्मेवारी सरकारी वकिल पक्षको हुने र देवानी मुद्दामा सम्बन्धित पक्षले पेस गरेका तथ्य तथा प्रमाणका आधारमा न्यायिक निर्णय हुनुपर्छ। न्यायाधीशलाई संविधानले दिएको भूमिकाभन्दा बाहिर लैजान नहुने उनको तर्क छ।

मिश्रले न्यायाधीशले सबै पक्षबाट अलग र निष्पक्ष रहेर कानुन, प्रमाण तथा विवेकका आधारमा फैसला गर्नुपर्ने उल्लेख गरे। मेलमिलापकर्ताको जिम्मेवारी दिँदा न्यायाधीशको निष्पक्षता र न्यायिक भूमिकामाथि प्रश्न उठ्न सक्ने उनको आशंका छ।

यसअघि पनि न्यायाधीशलाई मध्यस्थतासम्बन्धी प्रक्रियामा संलग्न गराउने विषयमा कानुनी तथा संवैधानिक विवाद उत्पन्न भएको स्मरण गराउँदै उनले यस्ता विषयमा संविधानका आधारभूत सिद्धान्तलाई कमजोर पार्ने गरी व्यवस्था गर्न नहुने बताए।

न्यायिक जिम्मेवारीबाहेकका काममा न्यायाधीशलाई खटाउने विषयमा प्रधानन्यायाधीशले समेत संवैधानिक सीमाभित्र रहेर मात्रै निर्णय गर्न सक्ने उनको भनाइ थियो।

समितिमा भएको छलफलका क्रममा मिश्रले मेलमिलापसम्बन्धी विधेयकमा न्यायाधीशको भूमिका निर्धारण गर्दा न्यायिक स्वतन्त्रता, संवैधानिक व्यवस्था र निष्पक्ष न्याय सम्पादनको सिद्धान्तलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन्।