पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समूहको २३ औं वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

समूहकी अध्यक्ष कमला श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा स्थानीय विकास, सामाजिक उत्तरदायित्व र विशेषगरी फोहोरमैला व्यवस्थापनको विषयमा महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरिएका छन ।

ad

कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य लक्ष्मी पहारी रहनुभएको थियो । साधारण सभामा समूहकी सचिव पुष्पा गिरी र कोषाध्यक्ष मैया देवी श्रेष्ठले क्रमशः प्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो, जसलाई सभाले सर्वसम्मत पारित गरेको छ।

साधारण सभामा बोल्दै वक्ताहरूले नागढुंगा क्षेत्रको वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने उद्घोष गरेका छन्।

सार्वजनिक स्थलमा जथाभाभी फोहोर फाल्ने स्कुटर र मोटरसाइकलको नम्बर टिपिएको र यातायात कार्यालयको समन्वयमा उनीहरूको नाम तथा सम्पर्क नम्बर समेत निकालिएको कार्यक्रममा जानकारी दिइयो।

अबका दिनमा अनुगमनलाई तीव्र पार्दै जथाभाभी फोहोर फाल्ने व्यक्तिको पहिचान गरी फोहोर सिधै उसको घरमै लगेर फ्याँकिदिने र कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ।

आमा समुहलाई सहयोग तथा विशिष्ट योगदान दिए बापत नागढुंगा टोलविकास संस्था, जेष्ठ सदस्य श्यामली बराल, अक्षयकोषदाताहरु श्याम बहादुर श्रेष्ठ, नन्दराम गिरी, पबित्रा गिरी र सित गिरी, असल कारोबारकर्ता बबिता राजभण्डारी, सहयोगदाता तारा क्षेत्री र रुबिन क्षेत्री, आर्थिक सहयोगदाता दिपा सुवेदी र देवि घिमिरे, सक्रिय सदस्य लक्ष्मी राजभण्डारी, वडाका तालिममा उत्कृष्ठ भएका सुनिता जोशी, कृष्ण कुमारी कुँवर र मथुरा गिरी लगाएत सम्मान गरेको थियो ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूह तथा टोल विकास संस्थाका अगुवाहरूको बाक्लो उपस्थिति रहेको थियो। शुभकामना मन्तव्य राख्दै वक्ताहरूले आमा समूहले समाज रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गरे।

सो अबसरमा पोखरा–९ का वडा सदस्य नन्दराम गिरी, नागढुंगा आमा समूहकी संस्थापक अध्यक्ष पवित्रा गिरी, निवर्तमान अध्यक्ष कमला केसी, पूर्व अध्यक्ष लक्ष्मी गिरी, समाजसेवी ठाकुर प्रसाद अधिकारी, हातेमालो नागढुंगा आमा समूहकी अध्यक्ष, नागढुंगा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी, एयरपोर्ट आमा समूहकी अध्यक्ष नानी माया गुरुङ, एयरपोर्ट टोल विकास संस्थाकी उपाध्यक्ष शोभा पौडेलले बोलेका थिए ।

कार्यक्रममा उपस्थित सरोकारवालाहरूले नागढुंगा क्षेत्रलाई सुन्दर, सभ्य र सफा टोल बनाउन आमा समूहसँग सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।