नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको पाँचौँ अधिवेशन सिड्नीस्थित रकडेलमा रहेको एभरेष्ट फङ्सन सेन्टरमा भव्य रूपमा सम्पन्न भएको छ। १९ सेप्टेम्बर २०२६, शनिबारका दिन क्रियाशील तथा जनसम्पर्क सदस्यहरूको बाक्लो उपस्थितिमा उद्घाटन तथा बन्दसत्रसहित अधिवेशन सम्पन्न भएको हो। कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, महामन्त्री प्रदीप पौडेल, प्रवक्ता देवराज चालिसे तथा केन्द्रीय सदस्य दिनेश कोइरालाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै अधिवेशनको सफलताको शुभकामना व्यक्त गरेका थिए। अधिवेशनको उद्घाटन समितिका संरक्षक एवं पूर्वअध्यक्ष कृष्ण गिरी र अधिवेशन तयारी समितिका संयोजक अभिमन्यु केसी लगायतले संयुक्त रूपमा गरेका थिए।

अधिवेशनले आवश्यक निर्वाचन प्रक्रिया सम्पन्न गर्दै शीतल गिरीको अध्यक्षतामा नयाँ केन्द्रीय तथा राज्य समितिको गठन गरेको छ। लामो समयदेखि सिड्नीमा बस्दै आएका र यसअघि न्यू साउथ वेल्स (NSW) राज्य संयोजकको जिम्मेवारी सम्हालिसकेका गिरी अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका हुन्। अध्यक्ष पदका अर्का प्रत्याशी रोहित खड्काले युवा पुस्ता र सक्षम नेतृत्वलाई अगाडि बढाउनुपर्ने धारणा राख्दै आफ्नो उम्मेदवारी फिर्ता लिएर गिरीलाई समर्थन गरेपछि सर्वसम्मत नेतृत्व चयनको बाटो सहज बनेको थियो। यसैगरी, अधिवेशनले नेपाली कांग्रेसको आगामी १५औँ महाधिवेशनका लागि १४ जना महाधिवेशन प्रतिनिधिसमेत चयन गरेको छ।

ad

उद्घाटन सत्रमा एनआरएनएका पूर्वअध्यक्ष सुरेन्द्र सिग्देल, सल्लाहकार प्रेम सापकोटा, संरक्षक कृष्ण गिरी, तयारी समिति संयोजक अभिमन्यु केसी, सदस्यहरू दुर्गा आचार्य र गणेश केसी, संस्थापक दिनेश जोशी तथा पत्रकार हेमन्त काफ्ले लगायतले शुभकामना मन्तव्य दिएका थिए। चार दिनसम्म भाइचारा र आत्मीयता साटासाट गर्ने वातावरण बनेको उक्त अधिवेशनले नेपालमै हुने पार्टी अधिवेशनको झल्को दिएको पूर्वनिर्वाचन संयोजक राजु अधिकारीले बताए। समितिका उपाध्यक्ष राजेश केसीको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन भने महामन्त्रीद्वय समित केसी र रोहित खड्काले गरेका थिए।