धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बाङ्गेमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। सडकको माथिल्लो भेगबाट लेदोसहितको पहिरो खसेर राजमार्गको दुवैतर्फको आवागमन रोकिएको हो।

पहिरोका कारण राजमार्गमा गुडिरहेका सवारीसाधन बीचमै रोकिएका छन् भने यात्रुहरू बाटोमै अलपत्र परेका छन्। सडकमा सवारीसाधनको लामो लाइन लागेको छ।

ad

लामो समयदेखि भइरहेको वर्षाका कारण जमिन कमजोर बनेपछि भिरालो क्षेत्रबाट पहिरो खसेको स्थानीय प्रशासनले जनाएको छ। यसअघि त्रिशूली नदीमा आएको बाढीबाट समेत कटानमा परेको बाङ्गे क्षेत्रलाई सडक सुरक्षाका दृष्टिले संवेदनशील मानिन्छ।

बाढीबाट प्रभावित क्षेत्रमै पुनः पहिरो खसेपछि सडक खुलाउन थप चुनौती देखिएको छ। पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि वर्षा जारी रहेकाले थप पहिरोको जोखिम कायमै रहेको प्रशासनले जनाएको छ।

काठमाडौंलाई देशका विभिन्न जिल्लासँग जोड्ने प्रमुख मार्गका रूपमा रहेको पृथ्वी राजमार्ग अवरुद्ध भएपछि यात्रु तथा मालवाहक सवारीसाधन प्रभावित भएका छन्।

प्रहरीले राजमार्गको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न यात्रुलाई आग्रह गरेको छ। पहिरो प्रभावित क्षेत्रमा थप क्षति हुन सक्ने जोखिम रहेकाले अनावश्यक रूपमा सडकमा ननिस्कन र सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको छ।