
काठमाडौं । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा सडक यातायात प्रभावित भएको छ। शुक्रबार दिउँसो ३ बजेसम्मको विवरणअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका प्रमुख सडक तथा राजमार्गका केही खण्ड पूर्ण रूपमा बन्द भएका छन्।
सडकमा पहिरो खस्ने र बाढीले क्षति पुर्याउने क्रम नरोकिएपछि जोखिमयुक्त क्षेत्रमा रात्रिकालीन सवारी सञ्चालनमा समेत स्थानीय प्रशासनले रोक लगाएको छ।
कुन–कुन सडक प्रभावित छन्?
कान्ति लोकपथ: ललितपुरको बागमती गाउँपालिका–भटेडाँडा तथा गोदावरी नगरपालिका–बर्खेधारा क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द छ।
बिपी राजमार्ग: काभ्रेको रोशी गाउँपालिका–किम्तिबेँसीमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ। काभ्रे–सिन्धुली खण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ।
नारायणगढ–मुग्लिन सडक: वर्षा र पहिरोको जोखिमलाई ध्यानमा राख्दै अर्को सूचना जारी नभएसम्म रातिको समयमा आवागमन बन्द गरिएको छ।
पृथ्वी राजमार्ग: धादिङको बेनीघाट र कृष्णभिर क्षेत्रमा पहिरोका कारण यातायात अवरुद्ध भएको छ। इच्छाकामना क्षेत्रमा भने साना सवारीसाधन सञ्चालन भइरहेका छन्।
रसुुवाका मुख्य सडक: बाढी तथा पहिरोका कारण जिल्लाका प्रमुख सडक पूर्ण रूपमा प्रभावित भएका छन्।
कान्ति राजमार्ग र त्रिभुवन राजपथ: मकवानपुर क्षेत्रमा पहिरोका कारण सडक अवरुद्ध हुनुका साथै रातको समयमा यात्रा गर्न रोक लगाइएको छ।
दोलखा र सिन्धुपाल्चोकका सडक: जोखिमलाई मध्यनजर गर्दै रातको समयमा जिल्लाका सडकमा आवागमन बन्द गरिएको छ।
तमोर कोरिडोर: पाँचथरको तुम्बेवास्थित नावाखोलामा आएको बाढीका कारण सडक पूर्ण रूपमा बन्द छ।
सिद्धिचरण लोकमार्ग: ओखलढुंगाको मानेभञ्ज्याङस्थित भँडारे खोलामा बाढी आएपछि यातायात प्रभावित भएको छ।
सोलुखुम्बुका सडक: भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै असोज १२ गतेसम्म साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन तथा पैदल यात्रामा रोक लगाइएको छ।
मध्यपहाडी लोकमार्ग, भोजपुर: रातको समयमा सवारी सञ्चालनमा प्रतिबन्ध लगाइएको छ।
मेची राजमार्ग, इलाम: रातको समयमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
चामे–बेँसीसहर सडक: मनाङको नासो गाउँपालिका–खोत्रोमा पहिरो खसेपछि सडक पूर्ण रूपमा बन्द भएको छ।
बेँसीसहर–खाङ्सार सडक: असोज १२ गतेसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म सवारी सञ्चालन गर्न रोक लगाइएको छ।
यसैबीच कास्कीका ग्रामीण सडकमा पनि असोज ११ गतेसम्म रातको समयमा आवागमन नगर्न व्यवस्था गरिएको छ।
सम्बन्धित जिल्ला प्रशासन तथा सुरक्षा निकायले बाढी, पहिरो र सडक दुर्घटनाको जोखिम बढेकाले अत्यावश्यक कामबाहेक रातको समयमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेका छन्। वर्षाको अवस्था र सडकको जोखिम हेरेर यात्रा गर्न तथा सम्बन्धित निकायबाट जारी सूचनालाई ध्यान दिनसमेत आग्रह गरिएको छ।









Facebook Comments