
काठमाडौं । अविरल वर्षाका कारण फोहोर संकलन, ढुवानी र विसर्जनमा समस्या देखिएपछि काठमाडौं महानगरपालिकाले केही समय घर तथा व्यवसायबाट फोहोर बाहिर ननिकाल्न महानगरवासीलाई आग्रह गरेको छ।
महानगरपालिकाको वातावरण व्यवस्थापन विभागका अनुसार ल्यान्डफिल साइटमा माथिबाट लेदोसहितको माटो खस्न थालेपछि फोहोर विसर्जनको काम प्रभावित भएको हो। वर्षा जारी रहेकाले फोहोर संकलन तथा ढुवानी सेवा केही समय प्रभावित हुन सक्ने महानगरले जनाएको छ।
महानगरले फोहोर बाहिर निकाल्नुपर्ने अवस्था आएमा सडक, चोक, सार्वजनिक स्थल वा खुला ठाउँमा नफाल्न आग्रह गरेको छ। विशेषगरी खोला–नाला, खेलमैदान तथा अन्य सार्वजनिक क्षेत्रमा फोहोर थुपार्दा वर्षाको पानीको निकासमा अवरोध पुग्न सक्ने भन्दै महानगरले सावधानी अपनाउन भनेको छ।
महानगरपालिकाले घर तथा परिसरमै फोहोर सुरक्षित रूपमा राख्न र कुहिने तथा नकुहिने फोहोर छुट्टाछुट्टै व्यवस्थापन गर्नसमेत अनुरोध गरेको छ।
सडक तथा सार्वजनिक स्थानमा फोहोर थुपारिँदा सडक अवरुद्ध हुनुका साथै वर्षाको पानी बग्ने मार्गमा अवरोध सिर्जना हुन सक्ने भएकाले तत्कालका लागि फोहोर व्यवस्थापनमा सहयोग गर्न महानगरले आग्रह गरेको हो।
वर्षाको अवस्था र ल्यान्डफिल साइटको भौतिक अवस्था सामान्य भएपछि फोहोर संकलन तथा ढुवानी सेवा नियमित रूपमा सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ।









Facebook Comments