
काठमाडौँ । भारी वर्षाको सम्भावनालाई मध्यनजर गर्दै नेपाल प्रहरीले विभिन्न प्रमुख राजमार्गमा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाएको छ। प्रहरीले असोज ९ देखि ११ गतेसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा हुनसक्ने पूर्वानुमानपछि जोखिम न्यूनीकरणका लागि यस्तो निर्णय गरेको जनाएको छ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सूचनाअनुसार पृथ्वीराजमार्गमा बिहीबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिएको छ।
देशभर वर्षा भइरहेका कारण सिद्धिचरण लोकमार्गमा भने असोज १२ गतेसम्म रातिको आवागमनमा कडाइ गरिएको छ। उक्त सडकमा बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सेवाका सवारीसाधनबाहेक अन्य सवारी तथा पैदलयात्रीलाई आवतजावत गर्न रोक लगाइएको प्रहरीले जनाएको छ।
मकवानपुरमा कान्तिराजमार्ग तथा भैँसे–भीमफेदी–देउराली–कुलेखानी हुँदै काठमाडौँतर्फ आउने सडकमा पनि बेलुका ७ बजेदेखि रातिको आवागमन रोकिएको छ।
त्यस्तै, बीपी राजमार्गमा बेलुका ५ बजेदेखि बिहान ५ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। नारायणगढ–मुग्लिन सडकखण्डमा पनि बेलुका ८ बजेदेखि भोलिपल्ट बिहान ५ बजेसम्म आवागमन बन्द रहने प्रहरीले जनाएको छ।
प्रहरीले वर्षाका कारण सडकमा बाढी, पहिरो तथा अन्य जोखिम निम्तिन सक्ने भएकाले यात्रु तथा सवारी चालकलाई वैकल्पिक समय र मार्गको व्यवस्था गरी यात्रा गर्न आग्रह गरेको छ।









Facebook Comments