काठमाडौँ । पहाडी क्षेत्रमा निरन्तर वर्षा भएपछि सप्तकोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। पानीको सतह बढ्दै गएपछि कोशी ब्यारेजका २२ वटा ढोका खोलिएका छन्।

बिहीबार दिउँसो ४ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेजमा सप्तकोशीको बहाव १ लाख ७७ हजार ३९० क्युसेक पुगेको सुनसरी प्रहरीले जनाएको छ।

ad

प्रहरीका अनुसार नदीमा पानीको बहाव अझै बढ्दो क्रममा रहेकाले ब्यारेजका थप ढोका खोल्नुपर्ने अवस्था आउन सक्नेछ।

सप्तकोशीमा पानीको बहाव तीव्र गतिमा बढिरहेकाले कोशी आसपासका तथा नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनले आग्रह गरेको छ। प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सुरक्षित स्थानमा रहनसमेत अनुरोध गरेको छ।

लगातारको वर्षाका कारण नदीमा पानीको सतह बढिरहेकाले तटीय क्षेत्रका बासिन्दालाई नदीको अवस्था निगरानी गर्न र आवश्यक सावधानी अपनाउन प्रशासनले आग्रह गरेको हो।